
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुद्दा जितेपछि सरकारले मन्त्रिपरिषद् बैठकमा छलफल गरेको छ ।
मंगलवार बसेको बैठकमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
नेपालको पक्षमा आएको फैसलाले अर्बौं रुपैयाँ घाटा लाग्नबाट जोगिएको उनले बताए ।
‘मुद्दामा नेपाल पक्ष हारेको भए ६०–६५ अर्ब रुपैयाँ नोक्सान भए पनि जीत पछि अब केही फि मात्रै तिर्दा १ अर्ब मात्रै खर्च हुने अवस्था आएको छ,’ उनले भने ।
सरकारी निर्णय र सर्वोच्च अदालतको आदेशमा चित्त नबुझेर एनसेलको कम्पनी आजियटा ग्रूपले अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मा मुद्दा गरेको थियो ।