लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ ।
मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका २ विद्यालयलाई करीब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराइएको हो ।
पथरी शनिश्चरेका ती विद्यालयमा २ शिक्षकले लिम्बु भाषा अध्यापन गराइरहेका छन् । किरात याक्थुङ चुम्लुङ इजरायल समितिले चन्द्र किरातेश्वर माध्यमिक विद्यालयका १ देखि कक्षा ७ कक्षासम्म र भगीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे–४ का १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई पुस्तक वितरण गरेको हो । २ विद्यालयमा गरी करीब ३६३ विद्यार्थी अध्ययन गरिरहेका छन् ।
पाठ्यपुस्तक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, किरात याक्थुङ चुम्लुङ संघीय सदस्य सन्तोस सेरेङ, याक्थुङ चुम्लुङ पथरी शनिश्चरेकी सदस्य इन्द्रमाया लिम्बूले विद्यार्थीलाई पुस्तक वितरण गरेका हुन् । पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोगबाट प्राप्त भएको हो ।
पाठ्यपुस्तक वितरण कार्यक्रममा किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष प्रेमबहादुर पयाङ्गु लिम्बुले सरकार र स्थानीय निकायबाट भाषा संरक्षणका लागि पहल नभएको गुनासो गरे । शिक्षकलाई सन्तुष्ट हुने गरी तलब भत्ता दिन नसकिएको र नगरस्तरबाट अनुगमन फितलो भएको एवं अध्यापनका लागि पर्याप्त बजेट नहुँदा अरुकै आशले बाँच्नुपर्ने अवस्था रहेको उनले बताए ।
नगर प्रमुख तुम्वापोले भाषा संरक्षणका लागि नगर गम्भीर रहेको भन्दै सबै भाषालाई जगेर्ना गर्ने प्रतिबद्धता जनाए । उनले भाषाको संरक्षणका लागि समितिले गरेको कामको प्रशंसा गर्दै पछिल्लो अवस्थामा केन्द्रीयस्तरबाटै बजेट कटौती भएको कारणले अपेक्षा गरेबमोजिम काम हुन नसकेको बताए ।
हाल लिम्बू भाषा अध्यापन गराउँदै आएका शिक्षकले मासिक तलबबापत ६ हजार र भत्ताबापत १० हजार रुपैयाँ पाउँदै आएका छन् । हाल पथरी शनिश्चरेका २ विद्यालयले ७ कक्षासम्म भाषा अध्यापन गराउँदै आएका छन् भने आउँदो शैक्षिक सत्रमा ८ कक्षासम्म लैजाने समितिले जानकारी दिएको छ ।