
अस्ट्रेलियाको प्रतिष्ठित 'किङ्स बर्थडे अनर्स लिस्ट २०२६' मा यस वर्ष १० जना भारतीय मूलका अस्ट्रेलियाली नागरिकहरू समेटिएका छन्। अस्ट्रेलियाली समाजको विकास र समृद्धिमा उत्कृष्ट योगदान पुर्याएबापत उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो।
सम्मानित हुनेहरूमा सामुदायिक नेता, चिकित्सा पेशेवर, मनोचिकित्सक, शल्यचिकित्सक, उद्यमी र सामाजिक अभियन्ताहरू रहेका छन् । यस वर्षको अनर्स लिस्टले सामुदायिक सेवा, चिकित्सा, विज्ञान, शिक्षा, सार्वजनिक प्रशासन, रक्षा, खेलकुद र कला क्षेत्रमा असाधारण सेवा र उपलब्धि हासिल गर्ने ९४८ जना अस्ट्रेलियालीहरूलाई समेटेको छ, जसमा प्रतिष्ठित भारतीय-अस्ट्रेलियालीहरूलाई 'मेडल अफ द अर्डर अफ अस्ट्रेलिया' र अन्य उच्च सम्मानबाट विभूषित गरिएको छ।
अस्ट्रेलियाका गभर्नर-जनरल एवं अर्डर अफ अस्ट्रेलियाका चान्सलर स्याम मोस्टिनले सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै खुसी व्यक्त गर्नुभएको छ। यस वर्षको सूचीमा जनरल डिभिजनतर्फ ७०२ जना, सैन्य पुरस्कारतर्फ ३४ जना, उत्कृष्ट सेवा पदकका लागि १४९ जना र विशिष्ट सेवा पदकका लागि ६३ जना चयन भएका छन्, जसलाई आगामी महिनाहरूमा आ-आफ्नो राज्यमा औपचारिक समारोहका बीच सुशोभित गरिनेछ।
यस वर्षको उच्च सम्मान 'अफिसर अफ द अर्डर अफ अस्ट्रेलिया' उपाधि पाउनेहरूमा बाल तथा किशोर मनोचिकित्सक प्रोफेसर वलसामा इपेन रहनुभएको छ। युनिभर्सिटी अफ न्यू साउथ वेल्समा कार्यरत उनले मनोरोग विज्ञान, न्यूरो-डेभलपमेन्ट अनुसन्धान, बाल मानसिक स्वास्थ्य र उच्च शिक्षामा पुर्याएको विशिष्ट सेवाका लागि यो सम्मान पाएका हुन् ।
अटिजम र टुरेट सिन्ड्रोम सम्बन्धी अनुसन्धानमा अन्तर्राष्ट्रिय रूपमा स्थापित उहाँको कार्यले बाल मानसिक स्वास्थ्यको क्षेत्रमा ठूलो प्रभाव पारेको छ। यस्तै, मेलबर्नका दिग्गज सामुदायिक नेता चेथिकाड ओम्मेन थोमसलाई भिक्टोरियाको भारतीय समुदायमा पाँच दशकभन्दा बढी समयदेखि पुर्याएको नेतृत्व र संस्थागत विकासको योगदानका लागि पदक प्रदान गरिएको छ।
सन् १९६९ मा अस्ट्रेलिया आएका थोमसले 'मलयली एसोसिएसन अफ भिक्टोरिया' को स्थापना गर्नुका साथै भिक्टोरियामा इन्डियन अर्थोडक्स चर्चको नेटवर्क विकास गर्न केन्द्रीय भूमिका खेलेका थिए ।
चिकित्सा र चिकित्सा प्रशासनको क्षेत्रमा पुर्याएको योगदानका लागि मेलबर्नका जनरल प्राक्टिसनर डा. अभिषेक कुमार वर्मालाई ओएएमबाट सम्मानित गरिएको छ। विगतमा भिक्टोरियन र अस्ट्रेलियन 'जीपी अफ द इयर' बनिसक्नुभएका उनी आप्रवासी तथा शरणार्थीहरूको स्वास्थ्य सेवामा आफ्नो नेतृत्वका लागि चिनिन्छन् ।
त्यसैगरी, गोल्ड कोस्टमा आधारित प्लास्टिक र रिकन्स्ट्रक्टिभ शल्यचिकित्सक डा. दिलीपकुमार गहानकरीलाई अस्ट्रेलिया तथा एसिया-प्रशान्त क्षेत्रमा प्लास्टिक सर्जरी र मानवीय नियोगमा पुर्याएको सेवाका लागि ओएएम प्रदान गरिएको छ।