१० असार २०८३, बुधबार

पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न बागमती सभ्यता समिति

जेठ ३१, २०८०
ललितपुर
पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न बागमती सभ्यता समिति

धार्मिक विशेषता रहेको बागमती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । बागमती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन् ।

उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण बागमती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले बागमती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ । 

ललितपुरको ज्वागलमा विक्रम संवत् २०५२ सालमा स्थापना भएको यूएनपार्क हाल अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा छ । रुख भएका कारण हरियाली देखिने युएनपार्क आकर्षक बनाउनका लागि काम भइरहेको छ । यूएनपार्क अन्तर्गतको करीब १ हजार ५७६ रोपनी जग्गा विक्रम संवत् २०७५ सालदेखि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा रहेको यूएनपार्क सँगसँगै बागमती किनारमा विभिन्न पार्क निर्माण भइसकेको र कुनै निर्माणका क्रममा रहेको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भने, ‘बागमती करिडोर छेउमा साना–ठूला गरी जम्मा ३१ वटा पार्क छन् । हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनाका लागि विभिन्न संस्थालाई निश्चित अवधिका लागि दिएका छौं । उहाँहरूले संस्थागतरूपमा नाम राखेर पार्क निर्माण गर्नुभएको छ ।’ 

अधिकारी अर्यालका अनुसार बागमती नदीको किनारमा पार्क निर्माणका लागि नदीको माटो निकालेर पार्क व्यवस्थापन गरिएको छ । बागमती नदीले माटो बगाएर ल्याउँदा नदीमा माटो थुप्रिएर बाढी पार्क र बस्तीमा पस्छ । नदीको माटो निकालेमा बागमती नदी सलल बग्छ र पार्क र बस्तीलाई पनि जोखिम कम हुन्छ । नदी छेउमा पार्क निर्माण गर्नुले नदी सफा हुन्छ ।

हाल निर्माण भएका पार्कमा टिकटको व्यवस्था गरिएको छैन । म्युजिक भिडियो सुटिङको लागि मात्र केही सीमित रकम लिने गरिएको छ । पार्क व्यवस्थापनका लागि टिकटको सिस्टमको व्यवस्था गरेमा पार्क अझै राम्रो हुने अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । ‘पार्कमा बिहान र बेलुका मान्छेको भीडभाड हुन्छ । बिहान योगा र मोर्निङवाकका लागि मान्छे आउँछन् । आजभोलि त दिउँसो अत्यधिक गर्मी हुने भएकाले गर्मी छल्नका लागि पनि मान्छे पार्कभित्र पस्छन् । अरु बेला भने बेलुकीपख धेरै जना पार्कभित्र घुमिरहेका हुन्छन् । 

‘अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोरको छेउमा पार्क मात्र नभई बागमती किनारमा भूकम्पपछि भत्किएका मन्दिर पनि निर्माण गरेको छ । अबको करीब ४ वर्षपछि बागमती किनारका पार्क आकर्षक देखिने छन्,’ एकीकृत विकास समितिका इन्जिनीयर असिम अधिकारीले भने । 

बागमती किनारमा निर्माण भएका विभिन्न पार्क निर्माण भइसकेपछि त्यसको राम्रोसँग व्यवस्थापन र संरक्षण गर्नको लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्