
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् ।
जेठ ३२ गते बिहीबार संसदीय सुनुवाइ गरेर कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको हो ।
संघीय संसद् संयुक्त संसद् नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का भएको छ ।
संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनका लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुईतिहाइ सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयको लागि प्रधानन्यायाधीश बन्ने भएको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए । कार्कीमाथिको उजुरीउपर बुधवारदेखि छलफल हुँदै छ ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा भएको थुनछेक बहसका क्रममा कागज गर्ने गृह मन्त्रालयका सहसचिव र उपसचिवहरूलाई नै प्रतिवादी बनाइनुपर्ने जिकिर गरिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा मंगलवार भएको थुनछेक बहसका क्रममा खाँणको तर्फबाट बहस गरेका विभिन्न कानून व्यवसायीहरूले यस्तो जिकिर प्रस्तुत गरेका हुन् ।
००००
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारवाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारवाही फुकुवा गरिएको हो ।
००००
सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि बहुमतले पारित भएको छ ।
००००
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
मंगलवार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकनमा राखेको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए । उनको मुटुमा समस्या देखिएको बताइएको छ ।
००००
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेका उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
००००
नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलोपटक अवतरण गरेको छ ।
विमानस्थल सञ्चालनमा आएको १ वर्षपछि मंगलवारबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान शुरू भएको हो ।
००००
सशस्त्र जनयुद्धको बेला बालसेना प्रयोग गरेर युद्धअपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध परेको रिटलाई सर्वोच्चले अग्राधिकार दिएको छ ।
००००
सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट वक्तव्यमा १० लाखमाथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो ।
००००
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षरित गरिएको उक्त पत्रमा राजपत्राङ्कित र रापअनङ्कित छुट्टाछुट्टै स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरिएको हो ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव १७ अंकले बढेको छ ।
मंगलवार १ दशमलव ७२ प्रतिशतले बढेको परिसूचक २ हजार २० अंकमा पुगेर रोकिएको छ ।
००००
काठमाडौँको ओमबहालमा धारिलो प्रहारगरी भाइले आफ्नै दाजुको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा २५ वर्षीय भाइ सुरज शाक्यले ४५ वर्षीय दाइ सूर्यको हत्या गरेका हुन् ।