
देशभर तापक्रम बढेसँगै जनजीवन प्रभावित बनेको छ । तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभीर झरनामा पर्यटकको घुइँचो लागेको छ । उनीहरू गर्मी छल्न यहाँ आउने गरेका छन् ।
झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउँछ । दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक यहाँ रमाइलो गर्न पुग्ने गरेका छन् ।
टेम्केमैयुङ–४ नागीमा रहेको यो झरना ६० मिटर लामो छ । भीरमौरी बस्ने भएकाले यो झरनाको नाम महभीर झर्ना रहेको स्थानीयको भनाइ छ ।
बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी पर्यटक पुग्ने गरेका छन् । गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झर्ना वरिपरि पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले बताए ।
विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरेको छ । भोजपुर सदरमुकामबाट करीब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब साढे ४ किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गरेको स्थानीयवासी शिवकुमार राईले बताए ।
भोजपुर र खोटाङ सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । झरना सडकबाट साढे २ किलोमिटरभित्र रहेको छ । महभीर झरनालाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गराउने उद्देश्यका साथ काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।