कैलालीमा १ हप्तायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दिनचर्या कष्टकर भएको छ ।
कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ ।
रिक्सा चालक माया चौधरी ५ वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछिन् । यस वर्ष १ हप्तायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ ।
‘गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ,’ मायाले भनिन्, ‘दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि गाह्रो भएको छ ।’
अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउँछन् । ‘यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन,’ उनी भन्छन्, ‘कहिलेकाहीँ त मुटु पनि दुख्छ । हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन ।’
विगत ५ वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउँछिन् । ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ ।
‘गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि चलाए पो कमाइ हुन्छ,’ उनी भन्छिन्, ‘थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ । महिलालाई त कठिन मात्र ।’
राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ । ‘बाटा राम्रा छैनन् । धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ,’ उनी भन्छन्, ‘गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन् ।’
गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ । दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि १ हप्तादेखि काममा जान सकेका छैनन् ।
‘घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु । साथीहरूले अस्पताल लगेर उपचार गरेर बचाए,’ राधेश्यामले भने, ‘त्यसपछि काममा गएको छैन । पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु ।’