०५ साउन २०८३, मंगलबार
सिंहदरबार गेटमा छड्के अनुगमन

हाजिरी गरेर सिंहदरबारबाट टाप: छड्केमा पर्दा ट्राफिक जरिवानादेखि खानासम्मका बहाना

जेठ ३२, २०८०
काठमाडौं
हाजिरी गरेर सिंहदरबारबाट टाप: छड्केमा पर्दा ट्राफिक जरिवानादेखि खानासम्मका बहाना

यमबहादुर कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी हुन् । जेठ ३२ गते बिहीवार मन्त्रालय पुगेर हाजिरी गरेलगत्तै उनी सिंहदरबारबाट बाहिरिए ।

कार्की 'अस्पताल जानु छ' भन्दै १०:१८ मा सिंहदरबारको दक्षिणी गेटबाट बाहिरिएका थिए ।

रक्षा मन्त्रालयका कर्मचारी सीताराम बस्नेत पनि मन्त्रालयमा हाजिर गरेर सामान लिन जानुछ भन्दै १०:२० मा सोही गेटबाट बाहिरिए ।

null

उनीजस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कर्मचारी कृष्णप्रसाद भुसाल पनि मान्छे भेट्न भन्दै हाजिरी गरेर १०:२३ मा सोही गेटबाट बाहिरिए ।

राष्ट्रिय योजना आयोगका कर्मचारी पर्वत गिरी पनि हाजिरी गरेर १०:२४ मा छोरा बिरामी भएको भन्दै बाहिरिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारी संगिता पौडेल हाजिरी गरेर १०:३० मा ट्राफिक जरिवाना तिर्न जानुछ भन्दै निस्किएकी थिइन् ।

null

गृह मन्त्रालयकी कर्मचारी चण्डेश्वरी कपाली १०:४१ मा अस्पताल जाने भन्दै बाहिरिएकी थिइन् ।

युवा तथा खेलकुद मन्त्रालयका कर्मचारी सन्देश मास्के पनि अधिवेशनका लागि भन्दै हाजिरी गरेर १०:४८ मा निस्किए ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका कर्मचारी बाबुकाजी महर्जन खाना खान भन्दै हाजिरी गरी १०:४० मा सोही गेटबाट बाहिरिएका थिए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकी कर्मचारी विमला वाग्ले पनि हाजिरी गरेर १०:५५ मा बाहिरिएकी थिइन् ।

छोराको नागरिकता बनाउन जान लागेको उनले उल्लेख गरेकी थिइन् ।

null

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारी प्रकाश पन्त भने पशुपति आर्यघाट जानुछ भन्दै ११:०७ मा बाहिरिएका थिए ।

वन तथा वातावरण मन्त्रालयका कर्मचारी मानबहादुर तामाङ ठमेल जानुछ भन्दै हाजिरी गरेर ११:१० मा सिंहदरबारको सोही गेटबाट बाहिरिएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायकी कर्मचारी गीता पराजुली हाजिरी गरेपछि तेल लिन जानुछ भन्दै बाहिरिएकी थिइन् ।

अर्थ मन्त्रालयकी कर्मचारी सम्झना ज्ञवाली सामान पुर्‍याउन १५ मिनेटका लागि भन्दै बाहिरिइन् ।

null

संसदीय मामिला तथा कानून मन्त्रालयका कर्मचारी जीवन थापा क्षेत्री सचिवको बीमा गरिदिनका लागि भन्दै बाहिरिएका थिए ।

शहरी विकास मन्त्रालयका कर्मचारी रवीन्द्र बोहरा हाजिरी गरेर १०:२० मै बाहिरिएका थिए । नागरिकता बनाउन जान लागेको उनले उल्लेख गरे ।

गृह मन्त्रालयका कर्मचारी प्रदीप पौडेल व्यक्तिगत कामका लागि भन्दै हाजिरी गरेलगत्तै बाहिरिएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारी धनवीरसिंह माझी ११:४५ मा बल्खु जानका लागि बाहिरिएका थिए ।

null

शहरी विकास मन्त्रालयका कर्मचारी चन्द्रिका विष्ट ११:४० मा पुल्चोकमा काम छ भन्दै बाहिरिएकी थिइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी कर्मचारी गोमा भण्डारी कपन जानुछ भन्दै ११:५३ मा बाहिरिएकी थिइन् ।

बिहीवार १० देखि १२ बजेको अवधिमा माथि नाम उल्लेख गरिएकासहित १३५ जना कर्मचारी हाजिर गरेर सिंहदरबारबाट बाहिरिए ।

राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार गेटमा आकस्मिक अनुगमन गरेको थियो ।

केन्द्रले सिंहदरबारको पूर्वी गेटमा १० बजेदेखि ११ बजेसम्म र दक्षिणी गेटमा १० बजेदेखि १२ बजेसम्म छड्के अनुगमन गरेको थियो ।

null

उक्त छड्केका लागि फोकल पर्सन तोकिएका राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब महानिरीक्षक निरञ्जन विष्टका अनुसार पूर्वी गेटमा १ घण्टाको अवधिमा ३५ जना र दक्षिणी गेटमा २ घण्टाको अवधिमा १ सय जना गरी कुल १३५ जना कर्मचारीहरू बाहिरिएका थिए । यसरी बाहिरिनेमा कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारी रहेको उनले बताए ।

'बाहिर जानेमध्ये ७० प्रतिशत जति बिरामी भएको र अस्पतालमा उपचारका लागि गएको हामीलाई बताउनुभएको थियो,' विष्टले लोकान्तरसँग भने, 'त्यसबाहेक व्यक्तिगत कामले जान लागेको, सामान पुर्‍याउन जान लागेको, खान खान जान लागेको, नागरिकता बनाउन जान लागेको, गोष्ठीमा जान लागेको, तालिममा जान लागेको, चिठी पुर्‍याउन जान लागेको, ट्राफिकको जरिवाना तिर्न जान लागेको भनेर भन्नुभएको थियो ।'

null

दक्षिणी गेटबाट बाहिरिने कर्मचारीहरूको विवरण :

null

null

null

null

null

हाजिरी गरेर क्यान्टिनमा गफ गर्दै बस्ने प्रवृत्ति

कतिपय कर्मचारीहरू हाजिरी गरेर बाहिर नगए पनि खाजा समय अघिसम्म वा पछि पनि क्यान्टिनमा गफ गरेर बस्ने गरेको देखिन्छ ।

सोही विषयमा अनुगमन गर्नका लागि केन्द्रले सञ्चार मन्त्रालयको क्यान्टिनमा जेठ ३१ गते बुधबार १० बजेदेखि १ बजेसम्म छड्के गरेको थियो ।

उक्त छड्केका क्रममा पनि धेरैजसो कर्मचारीहरू हाजिरी गरी घण्टौंसम्म क्यान्टिनमा गफिएर बसेको फेला परेको केन्द्रका डीआईजी विष्टले बताए ।

'क्यान्टिनमा हामीले छड्के गर्दा १० बजेदेखि १२ सम्म धेरैजसो कर्मचारीहरू गफ गरिरहेको अवस्थामा पाएका थियौं,' विष्टले थपे, 'किन बस्नुभएको भनेर सोधपुछ गर्न लाग्दा उहाँहरू आ-आफ्नो कार्यकक्षमा फर्किनुभएको थियो ।'

कर्मचारीहरू समयमा नआउने, आए पनि हाजिरी गरेर बाहिर जाने, आ-आफ्नो कार्यकक्षमा नबस्ने, क्यान्टिनमा गफ गरेर बस्नेजस्तो गुनासो आएपछि केन्द्रले छड्के अनुगमन गरेको उनले खुलाए ।

केन्द्रको छड्केमा परेकाहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा लेखी पठाउने तयारी गरिएको उनले खुलाए ।

'यसरी हाजिरी गरेर बाहिर जानेहरू सम्बन्धित कार्यालयको कार्यालय प्रमुखसँग सहमति लिएर गएको हो वा होइन, सहमति लिएर नगएको भए विभागीय कारबाहीका लागि लेखी पठाउने तयारी हामीले गरेका छौं,' विष्टले थपे, 'यहाँ कर्मचारीहरूले अनुशासन पालना नगरेको र कार्यालय समयमा आ-आफ्नो कार्यकक्षमा नबस्ने गरेको विकृति बढेकै हो । त्यसलाई सुधार गर्न आवश्यक छ ।'

सामान्य प्रशासन मन्त्रालयको छड्केमा एकै दिन १०३ जना कर्मचारी अनुपस्थित

जेठ २९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सोही मन्त्रालयका सचिव कृष्णहरि पुष्करले छड्के गर्दा एकैदिन १०३ जना कर्मचारीहरू अनुपस्थित भएका थिए । सह-सचिवदेखि कार्यालय सहयोगी सम्म उक्त छड्केमा परेका थिए ।

सचिव पुष्करले बिहान १० बजेदेखि १०:१५ सम्म छड्के गर्दा समग्रमा १०३ जना कर्मचारीहरू उपस्थित भएका थिएनन् ।

मन्त्रालयकै दरबन्दी अन्तर्गत भने १ जना सहसचिव, ६ जना उपसचिव, १९ जना शाखा अधिकृत, २२ जना सहायकसहित कुल ४८ जना अनुपस्थित पाइएका थिए ।

त्यसैगरी सोही मन्त्रालयमा फाजिल भएर हाजिर गर्ने अतिरिक्ततर्फका ५४ जना कर्मचारीहरू पनि अनुपस्थित पाइएका थिए ।

अतिरिक्त समूहका १ जना सहसचिव, १७ जना उपसचिव, १७ जना शाखा अधिकृत र १९ जना सहायक कर्मचारीहरूसहित ५४ जना समयमा हाजिर भएका थिएनन् ।

मन्त्रालयको आन्तरिक कर्मचारी प्रशासन शाखाका एक कर्मचारीका अनुसार अनुपस्थित भएका १०३ जना कर्मचारीहरूको हाजिरीमा सचिव पुष्करले रातो लगाएर गयल गरेका थिए ।

'त्यसबाहेक एकजना सहसचिव नारायणप्रसाद अर्यालको हाजिरीमा पनि रातो लगाइएको भए पनि उहाँ सीडीओको तालिम लिन जानुभएको पाइएपछि उहाँको बिदा कायम भयो,' ती कर्मचारीले लोकान्तरसँग भने ।

रातो लागिसकेका कारण ढिला उपस्थित भएका कर्मचारीले हाजिर गर्न पाएनन् । 'एकपटकका लागि भन्दै विभागीय कारवाहीको प्रक्रिया अगाडि बढेन,' ती कर्मचारीले लोकान्तरसँग भने, 'सचिवज्यूले एकपटकका लागि चेतावनी दिएर छाड्नुभयो ।'छड्केपछि अहिले कर्मचारीहरू समयमा नै उपस्थित भएर हाजिरी गर्ने गरेको उनको भनाइ छ ।

हेर्नुहोस्, थप तस्वीर :

null

null

null

salt training

कमेन्ट गर्नुहोस्