०७ असार २०८३, आइतबार

‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन सरकारलाई बालेनको पत्र

असार १, २०८०
काठमाडौं
‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन सरकारलाई बालेनको पत्र

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै मेयर बालेनले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा राखिएको आपत्तिजनक अंश हटाउन पहल गर्न अनुरोध गरेका हुन् ।

चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउनुपर्ने उनको आग्रह छ ।

पत्रमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’

कानूनी प्रबन्धको विषय उल्लेख गर्दै प्रमुख शाहले पत्रमा भनेका छन्, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको सरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

राष्ट्रहितविपरीतको उक्त चलचित्रको काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्र प्रदर्शनमा निषेध गरेर देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्छ । पत्रमा भनिएको छ, यसकारण नेपाल सरकारलाई छिमेकी मित्र राष्ट्र भारतसँग कुटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ । साथै, उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्न समेत अनुरोध गरिन्छ ।

पत्रको वोधार्थ/कार्यार्थ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, परराष्ट्र मन्त्रालय र चलचित्र विकास वोर्डलाई दिइएको छ ।

 

कमेन्ट गर्नुहोस्