
गरीबी निवारणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका लागि उद्योग स्थापनाको कामलाई तीव्रता दिएको हो ।
बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, ‘नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले उद्योग स्थापना गर्न लागेको हो । उद्योग स्थापनाका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।’
आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा स्थापना हुने उद्योगका लागि २ वटा भवन निर्माण गरिएको छ । उद्योगमा आवश्यक उपकरणका लागि खरिद प्रक्रिया सम्पन्न भइसकेको र केही दिनभित्रै उपकरण आइपुग्ने चुमानले जानकारी दिए ।
‘असार १५ गतेभित्र उद्योगको आवश्यक सबै काम सम्पन्न हुनेछ,’ उनले भने ।
उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्ची, टेबल निर्माण गरिनेछ । गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने लक्ष्य रहेको चुमानको भनाइ छ । चुमानले भने, ‘विपन्न समुदायका व्यक्तिलाई सीप सिकाएर प्रविधिसँग अभ्यस्त बनाएर रोजगारमा जोड्ने उद्देश्य हो ।’
उद्योगबाट फलामजन्य सामग्री पनि उत्पादन गरिनेछ । विशेष गरी यहाँबाट कृषि औजार उत्पादन गर्ने तयारी छ । चुमानका अनुसार कृषि उत्पादनका लागि सहयोगी बन्ने खालका आधुनिक यन्त्र उत्पादन गरिनेछ ।