२६ जेठ २०८३, मंगलबार

कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी–पहिरोको वितण्डा, भौतिक र मानवीय क्षति

असार ३, २०८०
काठमाडौं
कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी–पहिरोको वितण्डा, भौतिक र मानवीय क्षति

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मनसुन सुरु भएसँगै कोशी प्रदेशका विभिन्न स्थानमा बाढी तथा पहिरोले वितण्डा मच्चाएको छ । पाँचथर, ताप्लेजुङ, संखुवासभासहितका जिल्लामा बाढी तथा पहिरो गएको हो । जसका कारण मानवीय र भौतिक क्षति भएका छन् । 

बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । जिल्लाको हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार थप दुई जना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले बेपत्ताहरूको खोजी भइरहेको बताए ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाकाे पुल समेत बगाएको छ ।

००००
यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता  भएका छन् । ​

यसैगरी अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए । 

००००

संखुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । 
यसैगरी  चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा  काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन भएका छन् ।

​००००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले इमानदारिताका साथ देशप्रति समर्पित र जनतालाई सुखी बनाउन सक्ने राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताए ।

“हामी एउटा राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौं, जो देशप्रति समर्पित होस् र त्यसले मुलुकको चौतर्फी विकास, सुरक्षा तथा न्याय प्रदान गर्न सकोस्”, उनले भने ।
००००
मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
००००
नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन् ।
प्रेस चौतारी गण्डकीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र केही नेताले गल्ती गर्दैमा सबै नेतालाई मुछ्न नमिल्ने बताए ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक देखिएको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताए । मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनताको लामो सङ्घर्षबाट प्राप्त भएको अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न मोर्चाको आवश्यकता देखिएको उनको भनाइ थियो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार मेलम्ची खानेपानी आयोजनाको अवलोकन गरेका छन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित खानेपानी आयोजनाको अवलोकनका लागि प्रधानमन्त्रीसहित खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलगायत पुगेका थिए । 
००००
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् । 
शनिवार पार्टीका मधेश प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् ।
००००
ललितपुरस्थित खुमलटारकी पवित्रा लिम्बू घरअगाडि मेलम्ची खानेपानी आयोजनाको ट्याङ्की निर्माण हुने भएपछि मख्ख थिइन् । उनले सोचेकी थिइन् ट्याङ्की निर्माण भएपछि पानीको दुःख दूर हुनेछ । 

मेलम्ची खानेपानी आयोजना तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका हाकिमहरूले पनि वरिपरिका स्थानीयलाई पानी वितरण गर्ने बचन दिएका थिए । त्यसैको आशामा लिम्बुले ट्याङ्की निर्माण हुँदाको सास्ती, धुलो, हिलो र होहल्लालाई बेवास्ता गरिन् । पानीको हाहाकार अन्त्य हुने अपेक्षाअगाडि ती सबै अफ्ठेराहरू सामान्य थिए ।

नभन्दै ट्याङ्की निर्माण भयो । तर, पवित्राको आशा भने एकाएक निरासा परिणत भयो । केयुकेले बोली र्फेयो । खुमलटार क्षेत्र रिङरोडबाहिर रहेको भन्दै पानी वितरण नगर्ने केयुकेले जानकारी गरायो । उनीजस्तै त्यहाँका स्थानीयले मेलम्चीको पानी नपाएपछि शनिबार धर्ना दिएका छन् ।
००००
हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दुई अर्ब ६० करोड  ६५ लाख ४० हजार आठ सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ । शनिवार आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
००००
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका छन् । आइतबारदेखि शुरू हुन लागेको अनिश्चितकालीन बन्दअघि मेयर शाहले विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका हुन् ।

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको स्मरण गर्दै उनले काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा सो अवधारणाविपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको स्पष्ट पारेका छन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना दिवसको अवसरमा असार ७ गते सात प्रदेश र ७७ वटै जिल्लामा एकसाथ घण्टी बजाउने भएको छ । रास्वपा सभापति रवि लामिछानेले शनिवार फेसबुकमार्फत् पार्टी स्थापनाको अवसरमा सात प्रदेश र ७७ वटै जिल्लामा ७७ पटक घण्टी बजाउने घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्