
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटको भूमिका प्रशंसनीय रहेको बताएकी छिन् । प्राकृतिक विपद् तथा दुर्घटनामा परेका व्यक्तिको उद्धार तथा सहायतामा स्काउटले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।
नेपाल स्काउटको ७२औं स्थापना दिवसका अवसरमा लैनचौरस्थित प्रधान कार्यालयमा आयोजित मूल समारोहलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । साथै नेतृत्व विकासका तालिमलाई प्राथमिकता दिने गरी स्काउटले गरेका कामबाट नयाँ पुस्तामा यसप्रति सकारात्मक सोच पलाउने उनले बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले बालबालिका तथा युवाको शारीरिक, मानसिक एवम् बौद्धिक विकासका साथै उनीहरूलाई अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भाव अभिवृद्धि गर्दै राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ स्थापित स्काउटको वर्तमान नेतृत्वले देशका सातै प्रदेश र सात सय ५३ वटै स्थानीय तहसम्म सङ्गठनलाई विस्तार गरी स्काउटलाई गाउँ–शहर सबैतिर पुर्याउनु एक ऐतिहासिक उपलब्धि भएको उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले स्काउटरहरुलाई दीर्घसेवा पदकका साथै अन्य पदक पनि प्रदान गरेकी थिइन् । सोही अवसरमा स्काउटको विस्तारमा योगदान पुर्याउने स्थानीय तहका जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभ्यास र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।