२४ जेठ २०८३, आइतबार

सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभा बैठक स्थगित

असार ५, २०८०
काठमाडौं
सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । 

आज दिउँसो बझाङको बागथलामा सिंह सवार गाडी दुर्घटना हुँदा उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको विषयगत बजेटमाथिको छलफल चलिरहेको थियो । उक्त छलफल भोलि पनि जारी रहनेछ ।

आजको बैठकमा सांसद बलराम अधिकारीले पहुँचका आधारमा बजेट बाँडिएको बताए । पहुँच भएका व्यक्तिको निर्वाचन क्षेत्रका आयोजनामा बजेटको दोहोरोपना देखिएको उनको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रमा सहरी विकासम्बन्धी कुनै पनि योजना तथा कार्यक्रम बजेटमा नपरेको उल्लेख गर्दै उनले विनियोजन कुशलता र समावेशीताको गम्भीर उपहास भएको धारणा राखे । कोभिड महामारीको समयमा बन्द भएको छोटी भन्सार अझै खुल्न नसकेको विषय पनि उनले बताए ।

सांसद रामकृष्ण यादवले नागरिकको स्वच्छ खानेपानीको हक सुनिश्चितताका लागि बजेटमा व्यवस्था गरिएको र उक्त कार्यक्रम कार्यान्वयनमा जोड दिए । तराईका जिल्लामा आर्सेनिकयुक्त पानी पिउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सांसद यादवले शुद्ध खानेपानीको व्यवस्थाका लागि माग गरे ।

 त्यस्तै, भूमिगत पानीको स्रोत घट्दै गएकोप्रति पनि उनले ध्यानाकर्षण गरे । हरेक जिल्लाको सदरमुकाममा खानेपानीको ठूलो ट्याङ्की स्थापना गरिनुपर्ने उनको भनाइ छ ।

मधेस क्षेत्रमा भूमिगत पानीको स्रोत सकिएकाले ट्युबवेल सुकेको र अहिले खानेपानीको हाहाकार रहेको विषय सांसद राजकुमार गुप्ताले पनि उठाए । त्यस्तै, नागरिकता विधेयकसम्बन्धी विवाद चाँडै टुङ्ग्याउनुपर्नेमा पनि उनले जोड दिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्