
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।
२०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकालाई स्तब्ध बनायो ।
००००
कम कर निर्धारण गरी राजस्व चुहावट गरेको सम्बन्धी मुद्दामा कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतसहित ३ जनालाई ९ वर्ष कैद र बिगो तथा जरिवानासहित ६ अर्बभन्दा बढी जरिवानाको फैसला भएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले राजस्व चुहावट मुद्दामा तत्कालीन अध्यक्ष महत तथा सदस्यहरू चुडामणि शर्मा र उमेशप्रसाद ढकाललाई दोषी ठहर गर्दै सजाय र जरिवाना तोकेको हो ।
००००
नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमको विज्ञप्तिअनुसार मंगलबार राति १२ बजेदेखि हवाई इन्धन आन्तरिकतर्फको साविकको बिक्री मूल्य प्रति लिटर रु १० घटेको छ । जसअनुसार बिक्री मूल्य रु १५० प्रतिलिटर कायम भएको छ ।
००००
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा बुधबार प्रदेशभर शोक बिदा दिइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमामन्त्रिपरिषद्को निर्णयअनुसार सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र उक्त दिन सरकारी तथा सार्वजनिक निकायहरुमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख छ ।
सिंहको मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा निधन भएको थियो । सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते छन् ।
००००
सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भलाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
००००
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा क्रसर तथा गिट्टी, बालुवाको सम्बन्धमा सरोकार राख्ने सरकारी निकायका प्रतिनिधि तथा उद्योगी, व्यवसायीबीच छलफल भएको छ ।
सरकारले नवीकरण नभएका र दर्ता नभएका क्रसर उद्योगलाई कानुनी दायरामा आउन भनी दिएको समयसीमा नजिकिएपछि पुनः यससम्बन्धी बहस सुरु भएको हो ।
००००
सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको दोस्रो बैठकमा उनले बजेट पुस्तिकामा कमजोरी रहेको पाइएको र केही प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अङ्क रहेको पाइएकाले सच्याउन निर्देशन दिएका हुन् ।
बैठकमा छलफलका लागि तय भएको सहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमा लुम्बिनी प्रदेश उल्लेख हुनुपर्नेमा प्रदेश नं ५ उल्लेख भएको भन्दै केही सांसदले विरोध जनाएका थिए । विरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वी नेपालमा असार २ गते शनिवार आएको बाढीका कारण १० जनाको मृत्यु र २६ जना बेपत्ता भएको जानकारी गराएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा घटनाको सम्बन्धमा जानकारी गराउँदै गृहमन्त्री श्रेष्ठले बाढीका कारण ५४ घर पूर्ण रूपमा क्षति भएको उनले बताए ।
००००
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।
००००
चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका तीन जना कर्मचारीबाट थप रकम बरामद भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार दिउँसो ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट स्रोत नखुलेको थप २ लाख २२ हजार २८० रुपैयाँसमेत बरामद भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल स्थिर रहन नसकेपछि स्थायी रूपमा पेस मेकर राखिएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलवार विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा पुगेको छ ।
००००
रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकले विधि र प्रक्रिया र्पुयाएर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको हो ।