
काठमाडौं, २५ भदौ — इर्मा नामक विनाशकारी आँधी अमेरिकाको फ्लोरिडा राज्यमा आइपुगेको छ । आँधीका कारण तीव्र हावा चलिरहेको छ र बिजुली गएको छ ।

आँधीले यो राज्यमा भयानक विनाश गर्न सक्ने आँकलन गरिएको छ । यसकारण लाखौं मानिसलाई घर छोडेर जान लगाइएको छ ।
फ्लोरिडामा पचास लाख मानिसहरू पलायन भएर शिविरहरूमा खुम्चिन बाध्य भएका छन् । गभर्नर रिक स्कटले अाँधीको विषयमा कडा चेतावनी दिँदै प्रभावित क्षेत्रका मानिसहरूलाई तत्कालै घर छोड्न आग्रह गरेका छन् ।
‘आँधी राज्यमा छिरिनैसकेपछि अधिकारीहरूले तपाईंहरूलाई बचाउन सक्दैनन्,’ स्कटले सारासोतामा भएको पत्रकार सम्मेलनमा बताए ।
आँधीको केन्द्र राज्यको पश्चिमी किनारतिर मोडिएको र त्यसैकारणले गर्दा नेपल्स, फोर्ट मायर्स र टाम्पामा बढी क्षति पुग्ने बताइएको छ । तर आँधी अत्यन्त विशाल भएकाले फ्लोरिडाको पूर्वी तट पनि जोखिममा छ ।
एजेन्सी