१३ असार २०८३, शनिबार

तत्कालीन गाविस अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

असार ७, २०८०
काठमाडौं
तत्कालीन गाविस अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको तत्कालीन सराङकोट गाविस अध्यक्ष मोदनाथ रेग्मी र झपटबहादुर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा सोही गाविसका तत्कालीन वडा सदस्य, गाविस सचिव, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध जनही डेढ करोड बिगो कायम गर्दै बिहीवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार तत्कालीन ग्यारजाती गाविसका जनप्रतिनिधिहरू समेतले बाटो बनाउन बजेट व्यवस्था गर्ने नाउँमा कानूनले प्रदान नगरेको अधिकार प्रयोग सरकारी जग्गाको हिनामिना गरेका थिए । उनीहरूले वडास्तरीय भेलाबाट सरकारी जग्गाको टेण्डर आह्वान गरी बोलकबोल गर्नेबाट प्रस्ताव गरिएको रकम लिई अस्थाई बसोवासको प्रमाणपत्रसमेत दिएर सरकारी जग्गा अनधिकृत तवरले बिक्री वितरण गरेको अभियोगपत्रमा उल्लेख छ ।

तत्कालीन ग्यारजाती गाविसकै परिवर्तित नाम तत्कालीन सराङकोट गाविसका जिम्मेवार कर्मचारी तथा पदाधिकारीहरुसमेतले उक्त कार्यको समर्थन जनाई अस्थाई बसोबासको प्रमाणको रुपमा दिलबहादुर गुरुङलाई प्रमाणपत्रसमेत प्रदान गर्नुका साथै आवादी दर्ताका लागि सिफारिस गरेको पाइएको अख्तियारले जनाएको छ ।

गुरूङले उक्त सरकारी जग्गा हो भनी जानीजानी व्यक्तिगत लाभ प्राप्त गर्ने नियतले सरकारी जग्गा हक भोग गरी व्यक्तिगत स्वामित्व (लालपूर्जा) प्राप्ति गर्न गाविसबाट सिफारिससमेत प्राप्त गरेको अभियोगपत्रमा उल्लेख छ ।

हाल उक्त सरकारी जग्गामा स्थायी संरचना निर्माण गरी सरकारी जग्गा निजी प्रयोगमा लगाएको देखिँदा गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको हानिनोक्सानी दुरुपयोग भन्दै उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा तत्कालीन वडा सदस्य ऐमबहादुर थापा, तत्कालीन गाविस सचिव मानबहादुर थापा, दिलबहादुर गुरुङ, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध डेढ करोड रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्