०१ साउन २०८३, शुक्रबार

दूधमा मूल्य बढ्यो तर छैन गुुणस्तर

कात्तिक २०, २०७४
दूधमा मूल्य बढ्यो तर छैन गुुणस्तर
काठमाडौं, २५ भदौ -सरकारले किसानलाई सहुलियत भन्दै दूधको मूल्य बढाएपछि उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य छन् । मूल्यबृद्धि गर्दा उपभोक्ताको विषय ख्यालै नगरी सरकारले मनोमानी गरेको भन्दै जनस्तरमा चर्को बहस सृजना भएको छ ।

दुग्ध विकास संस्थान (डिडिसी) ले प्रति लिटर दूधको मूल्यमा ६ देखि १० रुपैयाँसम्म वृद्धि गरेको हो । उपभोक्ताले ३२ रुपैयाँ तिर्दै आएको डिडिसीको निलो प्याकेट दूधमा ३५ रुपैयाँ तिर्नुपर्छ । त्यस्तै ४० रुपैयाँ तिर्दै आएको हरियो प्याकेटको दूधको मूल्य ४५ रुपैयाँ पुगेको छ । खुल्ला दूध प्रतिलिटर ८५ देखि ९० रुपैँयामा उपभोक्ताले पाउँछन् । डिडिसीले मूल्य बढाएपछि नीजि स्तरका डेरीले समेत यही मूल्य कायम गर्ने गरेका छन् ।

दूधको मूल्य यसरी बढ्दा मर्कामा परेको उपभोक्ताहरुको गुनासो छ । दूध किनेर खाने राजधानी उत्यकाका अधिकांश ग्राहकहरु मूल्य बढ्दा मर्कामा परेका हुन् । सोह्रखुट्टे नयाँबजार बस्ने गोरखाकी सानुमाया श्रेष्ठले आफ्ना साना बच्चा भएकाले दूध खुवाउनै पर्ने हुँदा दूधको मूल्य बढेर समस्या भएको बताइन् । उनले भनिन्, ‘२ वर्ष र ५ वर्ष उमेरका २ जना बच्चा छन्, दूध खुवाउनैपर्छ, कमाइ छैन, आम्दानी नबढ्ने मूल्य बढ्ने हुँदा दूध नै घटाउनुपरेको छ ।’

दूधको मूल्य बढ्दा बिरामीहरुलाई समेत समस्या परेको छ । दोलखाबाट काठमाडौंको नयाँ बानेश्वरमा रहेको सिविल हस्पिटलमा ५८ वर्षीया बुवाको उपचार गराइरहेका हरिप्रसाद लामिछानेले भने, ‘बुवालाई हस्पिटल भर्ना गरेको छु, यहाँ हस्पिटलकै शुल्क यत्ति महंगो छ, त्यसैमाथि दूधको मूल्य समेत यत्रि धेरै बढ्दा निकै समस्या भयो ।’

दूधको मूल्य मनोमानी तरिकाले बढाउँदा आम उपभोक्तामाथि अन्याय भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारले एकतर्फी मूल्य बढाएर उपभोक्तामाथि अन्याय गरेकोे बताए ।

किसानलाई न्याय भएनः आयोग

कृषि विकास मन्त्रालयले दुग्ध विकास संस्थानलाई मूल्य बढाउने अनुमति दिएपनि वास्तविक किसानले समेत उचित मूल्य नपाउने समस्या समेत यथावत छ । हाल बढेको मूल्यको ७१ प्रतिशत किसानले पाउने र बाँकी उद्योगहरुले पाउने सम्झौता भएको छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले अहिलेको मूल्यमा ठूलो समस्या नभए पनि डेरी उद्योगले किसानहरु न्याय गर्न भने नसकेको बताउँछन् ।

लोकान्तरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘डेरी उद्योगभित्र समस्याहरु छन्, नियमन तथा अनुगमनसमेत नहुँदा किसानहरुले दिने शुद्ध दूध उपभोक्तासम्म नपुग्ने हुन्छ , यस्तै उपभाक्ताले तिरेको मूल्य किसानले नपाउने हुँदा समस्या देखिन्छ । यसका लागि नीतिगत स्पष्टता समेत आवश्यक देखिन्छ ।’ किसानहरुले उत्पादनको लागतअनुसार मूल्य नपाउने ठूलो समस्या रहेको उनको भनाइ छ ।


‘डेरीहरुलाई पनि समस्या छ‘

हाल करिब ५० वटा जिल्लामा व्यावसायिक रुपमा दूध उत्पादन हुने गरेको छ । दुग्ध व्यावसायीहरुले दूधमा भएको चिल्लो पदार्थ (फ्याट) को अवस्था हेरी किसानले ३५ देखि ४८ रुपैंया प्रतिलिटर दूध किन्छन् भने उपभोक्ताले ८५ देखि ९० रुपैयाँ प्रतिलिटरसम्म तिर्नुपर्ने हुन्छ ।

नेपाल डेरी एशोसिएसनका महासचिव प्रह्लाद दाहालले भने दुग्ध व्यावसायी (डेरी उद्योग) ले किसानहरुलाई न्यायपूर्ण मूल्य दिने गरेको बताए । लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘डेरीहरुले बढेको मूल्य किसानलाई नदिने भन्ने हुँदैन, किसानलाई खुशी पारेर मात्रै दूध किन्ने गरिन्छ ।’

दूधको गुणस्तरमा बेला बेला प्रश्न उठ्छ नि भन्ने लोकान्तरको प्रश्नमा दाहाल भन्छन्, ‘सामान्यतया गुनासाहरु आइ नै रहन्छन्, डेरी उद्योगहरुमा पनि आफ्नै समस्या छन्, जस्तो भौगोलिक विकटता र बाटोघाटो अभावका कारण समयमा दूध आइनपुग्ने, लोडसेडिङले समेत दूधको गुणस्तरमा समस्या पार्छ, यस्ता कुरामा राज्यले पनि जिम्मेवारी लिनुपर्छ ।’

हाल नेपालका करिब ५ हजार डेरी उद्योगहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ५० वटा ठूला डेरी उद्योग छन् । झण्डै ३ सय वटा जति मझौला उद्योगहरु सञ्चालनमा छन् भने १ हजार वटा साना डेरी उद्योग सञ्चालनमा रहेका छन् । बाँकी स्थानीय स्तरका साना उद्योगहरु रहेका छन् ।

हाल नेपालमा दैनिक झण्डै ४८ हजार लिटर दूध खपत हुने गरेको डेरी एशोसिएसनका महासचिव दाहालले बताए । उनकाअनुसार दैनिक खपत हुने दूधमध्ये १५ प्रतिशत प्याकेटबाट र ३५ प्रतिशत खुल्ला रुपमा बिक्री बितरण हुने गर्छ भने बाँकी ५० प्रतिशत दूध स्थानीय स्तरमा बिक्री हुने गर्छ । हाल गाई पाल व्यवसाय बिस्तारै बृद्धि हुन थालेपछि भैसी र गाईको दूध बराबर उत्पादन तथा खपत हुने गरेको दाहालले बताए ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिम्सिनाका अनुसार हाल दैनिक दूध र दही गरी देशभरीमा दैनिक १ लाख ४० हजार लिटर दैनिक खपत हुने गर्छ भने राजधानी उपत्यकामा १ लाख १० हजार लिटर खपत हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्