५० वर्षीय चर्चित बाबा जो आफूलाई धर्मगुरु, सामाजिक लिडर, निर्देशक, अभिनेता तथा रकस्टार मान्थे । विकिपिडियामा गत सोमबारदेखि तिनै बाबाको एउटा नयाँ परिचय ‘क्रिमिनल’का रूपमा थपिएको छ । धर्मका नाममा आफ्नो छुट्टै साम्राज्य खडा गरेर राजशी जीवन बिताइरहेका बाबा गुरमित रामरहिम दुई महिलालाई बलात्कार गरेको प्रमाणित भएपछि २० वर्षका लागि जेल चलान भएका छन् ।

अझ रोचक र दृश्यमा नदेखिएको तथ्य के छ भने यी तिनै बाबा हुन्, जसले नेपालमा भूकम्प जाँदा ८ सय गाडी तथा ६ सयभन्दा बढी स्वयंसेवक लिएर नुवाकोटका ग्रामीण बस्ती चहारेका थिए । मिडियामा त्यति नआएको उनको नेपाल कनेक्सन आफैंमा रमाइलो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम जोडेर राहत बाँड्न नेपाल आएका बखत उनले आफ्नो साम्राज्य विस्तारका लागि नेपालका हाइप्रोफाइलहरूसँग जोडिने असफल प्रयाससमेत गरेका थिए । राहतलाई माध्यम बनाउँदै उनले डेरा सच्चा सौदाको नेपाल शाखा खोल्ने प्रयाससमेत गरेको बताइन्छ ।
भूकम्प गएको करिब १ सातापछि नुवाकोट जिल्लाको विदुर नगरपालिका–७ स्थित देवीघाट मन्दिरलाई डेरा सच्चा सौदा लेखिएको सैनिक पोसाकका ३ सयजति मानिसले सेल्टर बनाएका थिए । उनीहरूले करिब ५० भन्दा बढी भारतीय नम्बरका ट्रक त्यहाँ पुर्याएका थिए । ती कसरी आए केका लागि आए भन्ने कुरा तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई पनि थाहा थिएन । त्यसरी ठूलो टिम नै त्यहाँ आएर बसेपछि उनले सोधीखोजी गर्दै जाँदा पत्ता लाग्यो भारतीय बाबा भनिने रामरहिम सिंह तथा उनका सहयोगीहरू भूकम्पपीडितलाई राहत एवं सहयोग वितरण गर्न आएका रहेछन् ।
जिल्लामा राहत तथा सहयोगका लागि आएका जुनसुकै संघ–संस्थाले पनि आउनु अघि जिल्ला प्रशाशनबाट स्वीकृति लिनुपर्थ्यो । सिधै आएर आफूखुसी काम गरेको थाहा पाएपछि प्रजिअले एक्सन लिए । ‘मानवीय हिसावले राहत तथा उद्धारमा आएको टोलीलाई किन फर्काउनु भनेर पछि त्यही वडामा काम गर्ने गरी सहमति दिइयो ।’ निरौला भन्छन्– ‘तर पछि बुझ्दै जाँदा ठूला नेताको दबाबमा शक्ति जमाउने प्रयासमा लागेको पाइयो ।’ सुरुमा एउटा वडामा राहत बाडन सहमति दिए पनि राम रहिमले राजनीतिक पावर लगाएर जिल्लाभर नै एक्लै राहत तथा पुन:स्थापनाको कार्य सञ्चालन गर्छु भनेर दबाब दिन थाले । जिल्लाभर अन्य सहयोगीलाई पस्न नदिने र आफू एक्लै राहत तथा पुन:स्थापना गर्न सक्षम भएको भन्दै सम्पूर्ण जिल्ला आफूलाई मात्र दिन विभिन्न तहका नेताहरूबाट दबाब सिर्जना गर्न थाले ।
७ नम्बर वडाको जिम्मेवारी पनि पूरा नगरी अन्य स्थान पनि दबाबका भरमा माग्न थालेपछि प्रमुख जिल्ला अधिकारी र रामरहिमबीच टसल भयो । ‘एउटा वडामा पनि राम्रोसँग राहत तथा उद्धारमा खटिएको नपाएपछि अन्य स्थानमा जाने स्वीकृति दिन मेरो नैतिकताले मानेन ।’ प्रजिअ निरौलाले भने– ‘पछि मैले नुवाकोटको रूप परिवर्तन गर्न खोजेको थिए, सिडियोले काम गर्न दिएन भन्दै हिँडेको सुनें ।’ नेपाली कांग्रेसका नेताहरूको सम्पर्कबाट त्यहाँ पुगेका बाबाले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालादेखि विभागीय मन्त्रीहरूसम्मलाई दबाब दिन लगाएको प्रजिअ निरौला आरोप लगाउँछन् । कांग्रेसका स्थानीय नेता जगदीश नरसिंह केसी, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीदेखि लिएर राप्रपाका नेता प्रकाशचन्द्र लोहनीसम्मको दबाब तत्कालीन प्रजिअमाथि थियो । ती नेतालाई प्रयोग गरी रामरहिमले तत्कालीन प्रधानमन्त्री कोइरालाको नुवाकोट भ्रमणका बेला उनको संस्थालाई खुला रूपमा काम गर्न दिनु भन्नसमेत लगाएको बताइन्छ ।
मोदीको नाम भजाएर आएका थिए नेपालनेपालमा भूकम्प आएका बखत बलात्कारको आरोपमा अदालतबाट दोषी ठहरिएका रामरहिमको उक्त मुद्दा अदालतमा विचाराधीन थियो । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिविआई)ले उनको मुद्दा हेरिरहेको थियो । त्यतिवेला रामरहिमलाई सिविआईले अनुमति बिना देश छोडेर अन्त नजान उर्दी दिएको थियो ।
भूकम्पपछि उनले मानवीय राहत तथा उद्धारमा जाने भन्दै नेपाल आउने अनुमति मागेका थिए । अनुमति पाएको दुई दिन पनि नकटी डेरा सच्चा सौदा हरियाणाको नामबाट ‘प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोगमा नेपालका भूकम्प पीडितलाई राहत सामग्री’ लेखिएको ब्यानर बोकेर करिब ८ सय ट्रक तथा ६ सय स्वयंसेवक लिएर काठमाडौं आएका थिए रामरहिम । काठमाडौं आएर सुरुमा नुवाकोट पुगेका रामरहिमले तीन सय स्वयम सेवक खटाएर त्यहाँ ५० देखि ८० ट्रक राहत सामग्री बाँडेको तत्कालीन प्रजिअ निरौला बताउँछन् । एक साता त्यहाँ बसेर राहत तथा उद्धारमा खटिए पनि स्थानीय बासिन्दाहरूसँग राम्रो सम्बन्ध नभएपछि उनी रातारात स्वंसेवक सहित काठमाडौं फर्किएका थिए ।
काठमाडौं आएर दुई दिन ललितपुरका विभिन्न स्थानमा राहत बाँडेको भनिए पनि कहाँ राहत बाँडियो भन्ने कुरा भने खुलेको छैन । त्यत्रो राहत र जनशक्ति लिएर आएका रामरहिमले अन्य सहयोग र जनशक्ति कहाँ प्रयोग गरे कसैलाई थाहा छैन । भूकम्पका बेला करिब १० दिन नेपाल बसेका रामरहिमले यहाँबाट फर्किएर गएपछि पुन: १५ दिनका लागि नेपाल आउन निवेदन दिएका थिए तर सीआईबीले अनुमति नदिने कुरा थाहा पाएपछि उनले आफैं निवेदन फिर्ता लिएको बताइन्छ । -कान्तिपुर साप्ताहिकबाट