
काठमाडौंको नक्सालबाट एक जना बेहुला विवाह मण्डपबाटै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रीन कार्ड प्राप्त व्यक्ति भएको प्रहरीले जनाएको छ ।
मंगलवार दिउँसो २ बजे काठमाडौं महानगरपालिका १ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै बेहुलालाई प्रहरीले पक्राउ गरेको हो ।
बेहुला पक्षले आफूहरूले मागेअनुसारको दाइजो नपाए विवाह रद्द गर्ने भनेपछि दुई पक्षबीच विवाद भएको थियो । सोही सूचनाको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
५० लाख रुपैयाँ दाइजो नपाएको भन्दै उनले मण्डपमा रहेकी बेहुलीलाई समेत हातपात गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।