म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यू–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी भएका खेलाडीलाई मंगलवार बेनीमा आयोजित कार्यक्रममा १ लाख ५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
खेलाडीलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले सम्मानपत्र, दोसल्लासहित सम्मान गरेका हुन् ।
असार ९ गते सम्पन्न फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले मेयर कप बास्केटबलको उपाधि जितेको थियो । विजेता खेलाडीले १ लाख पुरस्कारसहित ट्रफी प्राप्त गरेका थिए ।