
इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूले महाबुला, फर्वानिया, फहाहिललगायत शहरमा रहेका ११८ वटा शाखाहरूबाट इसेवा मनी ट्रान्सफरमार्फत रकम नेपाल पठाउन सक्नेछन् ।
ती शाखाहरूबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यम इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा वा इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सकिने इसेवाले जनाएको छ ।
त्यस्तो रकम नेपालभरि रहेका इसेवा मनी ट्रान्सफरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ ।
पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनससमेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सम्झौताबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले अल मुजैनी एक्सचेन्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा उत्साहित भएको बताए । ‘कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरूले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीहरूको बसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ’ उनले भने ।
अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीका कुवेतमा ११८ वटा शाखा सञ्चालनमा रहेका छन् । जसले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन् ।
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।
इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।