१७ असार २०८३, बुधबार

‘परस्त्री’को राजधानीमा प्रिमियर, अतिथि फिल्मकर्मीले गरे तारिफ [तस्वीरहरू]

असार १४, २०८०
काठमाडौं
‘परस्त्री’को राजधानीमा प्रिमियर, अतिथि फिल्मकर्मीले गरे तारिफ [तस्वीरहरू]

आज (बिहीबार)बाट प्रदर्शनमा आएको शिल्पा मास्के अभिनीत फिल्म ‘परस्त्री’को बुधबार साँझ राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ । 

निर्माण टिम, फिल्मकर्मीदेखि रंग पत्रकारसम्मले बिग मुभिजमा आयोजित प्रिमियरमा पुगेर डार्क थ्रिलर जनरामा बनेको २ घण्टा अवधिको फिल्म हेरेका थिए । फिल्म हेरेर निस्कँदै गर्दा अधिकांशले कलाकारको अभिनय, डेब्यु निर्देशक सुरज पाण्डे र दीपेन्द्र के. खनालको लेखनको प्रशंसा गरे । 

निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, कबिर खड्कादेखि अभिनेत्री स्वस्तिमा खड्का, अञ्जना बराईली लगायतले फिल्म हेरे । 

दर्शकलाई फिल्म ‘परस्त्री’ दीपेन्द्र र सुरजको गठबन्धनको बलियो उपहार भएको बुझाई उपस्थित फिल्मकर्मी र पत्रकारको थियो ।

प्रिमियरमा विशेष गरि निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न फिल्म ‘लभ लभ लभ’मा नायकको रुपमा काम गरे पनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले, सिनेमा ‘परस्त्री’बाट निर्देशनमा बलियो संभावना देखाएको फिल्मकर्मीले बताए । 

फिल्मको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले बताए । 
श्रीमान्–श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पीडाको कथामा फिल्म निर्माण भएको छ । 

प्रिमियरमा पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरिन् । उनले भनिन्, ‘सुरजले लभ लभ लभमा आफूलाई एउटा राम्रो कलाकारको रुपमा चिनाएको थियो’ आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो फिल्म निर्देशन गरेकोमा आफूलाई गर्व लागेको स्वस्तिमाले बताइन् । आफूले परस्त्री हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्जवल देखेको भन्दै उनले प्रशंसा गरिन् । 

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन् । सुरज पाण्डेको डेब्यु निर्देशन रहेको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । 

शर्मिला पाण्डे र दीपेन्द्र के. खनालले यो फिल्मको निर्माणमा सहकार्य गरेका हुन् । खनाल फिल्मका लेखकसमेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्