
काठमाडौं, २५ भदौ– काठमाडौं किर्तिपुरकी पुनम पोखरेललाई छाला चिलाउने समस्या भएपछि वीर अस्पतालमा चेकजाच गराउन आइन् । जचाँएपछि छाला रोग विशेषज्ञले विभिन्न ३ किसिमका औषधि लेखिदिएका थिए । वीर अस्पताल भित्र रहेको अस्पतालको फार्मेसीमा उनले औषधि किन्न खोजिन तर पाइनन् ।
डाक्टरले तीन किसिमको औषधि लेखिदिएको भएपनि अस्पतालको फार्मेसीमा एउटा मात्रै पाएको पोखरेलले बताइन् । ‘अस्पतालको फार्मेसीमा औषधि पाइएनन्, बाहिर गएर किन्नु भनेर पठाए’ उनले लोकान्तरसँग भनिन् ।
अस्पतालको फार्मेसी परिसरमा दुई दम्पत्ति हातमा कागजपत्र लिएर अलमल पर्दै थिए । गोरखाबाट पत्नीको उपचारको लागि वीर अस्पतालमा आएका चन्द्र गुप्ताले अस्पतालको औषधि पसलमा खोजेको कुनैपनि औषधि नपाएको बताए । ‘डाक्टरले दिएको औषधि लिन आएको पाइएन, आज पनि बाहिरैबाट लानुपर्ने भयो’ उनले लाकान्तरसँग भने ।
गुप्ताले यसअघि पनि अस्पतालको फार्मेसीमा औषधि नपाएर बाहिरै बाट किनेको बताए । ‘डाक्टरले भनेको औषधि यहाँ पाइदै पाइदैन । यहाँ अलि सस्तोमा पाहिन्छ कि भनेर आयो, औषधि छैन बाहिर किन्नुस् भनेर पठाउँछन् । अस्पतालमै औषधि पाइदिए अन्त धाउन र ठगिन पर्दैन थियो’ उनले गुनासो गरे ।
बालाजुका अशोक नगरकोटी पनि आफ्नी आमालाई डाइलासिस गराउन नियमित रुपमा वीर अस्पताल आइरहन्छन् । उनले पनि आमालाई चाहिने सबै औषधि अस्पताल बाहिरको फार्मेसीबाटै किन्ने गरेको बताए ।
यि तीन जना त प्रतिनिधि पात्र मात्रै हुन् । वीर अस्पतालमा आउने सबै विरामीहरुले अस्पातलको फारर्मेसीमा अत्याबस्यक औषधि पाउदैनन् । बिरामी लिएर आएकाहरु मानसिक रुपले पनि तनावमा रहेका हुन्छन् । औषधि नपाउदा कतिपयले त औषधि व्यपारमा बसेका फर्मासिष्टहरुलाई गाली गरेर जान्छन् ।
वीर अस्पतालकै फार्मेसीमा कार्यरत एक फर्मासिष्टले सुनाइन्, ‘यहाँ सबै रोगको प्रयाप्त औषधि नै छैन । औषधि लिन आउँनेहरुलाई रित्तै फर्काउनु पर्छ । औषधि दिनुस्न भन्छन्, बाहिर गएर किन्नुस् यहाँ छैन भनेर पठाउँछौं ।’
फार्मेसीमा औषधि नहुँदा बिरामीलाई बाहिरको पठाउनु पर्ने आफुहरुको बाध्यता रहेको उनीहरु बताउँछन् । ‘हाम्रो काम त भएको औषधि बेच्ने मात्रै हो । अरुकुरा त अस्पताल प्रसाशनले गर्नुपर्ने हो । यहाँ यस्तै छ’ उनले भनिन्।
वीर अस्पतालमा सिटामोट पनि किन्नुपर्छ !
राष्ट्रिय स्वास्थ्य नीति २०७१ मा सरकारी अस्पताल आफैले संचालन गर्नुपर्ने र त्यहाँ ७० प्रकारको औषधि निशुल्क हुनुपर्ने व्यवस्था छ । तर मुलुककै जेठो काठमाडौंको वीर अस्पतालमा सरकारले निशुल्क भनेको ७० प्रकारका औषधि समेत किन्नुपर्ने बाध्यता छ । विरामीहरुले सरकारी अस्पताल भित्रैबाट सिटामोल पनि किनेर खाने गरेका छन् ।
राजधानीका सरकारी अस्पतालमा रहेको फार्मेसी नाम मात्रैको छ । अस्पतालको फार्मेसीमा औषधिहरुमा छुट र सहुलिय हुने भएपनि औषधि नै नहुदा विरामीहरु निजी फार्मेसीमा महंगोमा औषधि किन्नुपर्ने बाध्यता छन् ।
वीर अस्पताको आकस्मिक सेवामा आउने विरामीहरु स्लाइन पानी र ड्रेसीङका सामाग्री समेत अस्पताल बाहिरको पसलबाट किन्नुपर्ने बाध्यता रहेको वीर अस्पतामै कार्यरत एक कर्मचारीले लोकान्तरलाई बताए ।
‘अस्पतालको फार्मेसी त नाम मात्रैको हो । यहाँ आकस्मिक सेवा लिन आउँनेहरुले स्लाइन पानी पनि बाहिरबाट किन्छन् । यो अस्पताल प्रसाशनको कमजोरी हो । अस्पतालको फार्मेसीमा औषधि भए त विरामीहरुलाई सास्ती हुदैन थियो’ उनले भने ।
वीर अस्पतालको बाहिर पट्टि १० भन्दा बढी नीजि औषधि पसलहरु संचालनमा छन् । वीर अस्पतालको फार्मेसीमा औषधि नपाए पछि विरामीहरु त्यही औषधि किन्ने गछन् ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले पनि अस्पातको फार्मेसीमा प्रयाप्त औषधि नहुदाँ विरामीलाई औषधि उपलब्ध गराउन नसकेको स्वीकार गरे । ‘हाम्रो अस्पतालमा १६ प्रकारको सेवा छ । यहाँ कार्य गर्ने २ सय भन्दा बढि डाक्टरले सिफारीस गरेको औषधि राख्न सक्ने अवस्था नै छैन’ उनले लोकान्तरसँग भने, ‘बजारमा एउटै रोगको पनि धेरै किसिमका औषधिहरु हुन्छन् । हामी सबै राख्न मिल्दैन । टेन्डर निकालेर जुन सस्तो छ त्यहि मात्र राख्ने हो ।’
केन्द्रीय अस्पतालमा ७० प्रकारका औषधि राख्ने व्यवस्था नभएको भन्दै उनले वीरमा आउने विरामीले सिटामोट पनि किनेरै खानुपर्ने बताए । वीर अस्पतालमा आउँने विरामीको मात्रै हैन् । काठमाडौंको अधिकांश सरकारी अस्पतालको फार्मेसीमा विरामीको लागि चाहिने सबै प्रकारका औषधि पाइदैन ।
राजधानीका ठूला अस्पतालहरु त्रि.वि. शिक्षण अस्पताल (टिचिङ), नयाँ बानेश्वरको सिभिल अस्पताल, थापाथलीको पाटन, ललितपुरको पाटन अस्पतालको फार्मेसीमा पनि विरामीलाई चाहिने सबै औषधि पाउन मुस्किल छ । सबै सरकारी अस्पतालका फार्मेसी नाम मात्रैको छ ।