
रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले बिहीवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीवार भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो ।
प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
३ दिनअघि पक्राउ परेका व्यक्तिहरूबाट लु८५प ६२२१ र लु२०प २५७२ नम्बरको पल्सर मोटसाइकल र विभिन्न मोडलका मोबाइल फोन समेत बरामद गरिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए । उनीहरूले वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडिको पर्खाल नजिकै प्रेसर कुकर बम राखेको प्रहरीले जनाएको छ ।
बम नेपाली सेनाको विस्फोटक टोलीबाट डिस्पोज गरिएको थियो । असार १ गते बिहान २ः३० बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्डमा पर्खाल बाहिर प्रेसर कुकुर बम विस्फोट गराएको र सोही दिननै बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विस्फोटक पदार्थ (प्रेसर कुकुर बम) बिस्फोट गराएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले घरनजिकै बम राख्ने र फिरौती रकम माग्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ ‘विस्फोटक पदार्थसम्बन्धी कसूर’ शीर्षकमा मुद्दा दर्ता भई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।