
काठमाडौं, २६ भदौ — अस्ट्रेलियाले म्यान्मारको सेनालाई सुरक्षासम्बन्धी तालिम र सहयोग गर्ने गरेकोमा त्यो रोक्नका लागि आग्रह गरिएको छ । रोहिंग्यामाथि व्यापक दमन गरेको आरोप म्यान्मार सेनामाथि लागेको छ ।

म्यान्मारको सेनाले रोहिंग्याहरू नफर्किऊन् भनेर बंगलादेशसँगको सीमामा प्रतिबन्धित ल्यान्डमाइन राखेको मानवअधिकारवादी समूहले पुष्टि गरेका छन् । राखिने प्रान्तमा १५ दिनदेखि चलेको हिंसाका कारण लगभग तीन लाख रोहिंग्याहरू पलायन भएका छन् र मानवीय संकट झनै खराब भएको छ ।
अठार हजारभन्दा बढी रोहिंग्या मुसलमानमध्ये धेरैजना बिरामी र घाइते छन् र उनीहरू म्यान्मारबाट भागिरहेका छन् ।
‘म्यान्मारको सेनालाई तालिम दिने वा हतियार बेच्ने सरकारहरूले अप्रत्यक्ष रूपमा रोहिंग्यामाथिको कठोर दमनलाई सहयोग गरिरहेका छन् । मानवताविरुद्धको अपराधको स्तरमा पुग्ने अपराध त्यहाँ भइरहेको छ,’ एम्नेस्टी इन्टरनेसनलकी क्राइसिस रेस्पोन्स निर्देशक तिराना हसन बताउँछिन् ।
अस्ट्रेलियाले म्यान्मारको सेनासँगको सुरक्षा सम्बन्धलाई थप बलियो बनाउने सहमति गरेको छ । गत मार्च महिनामा यो सहमति बनेको हो । यस आर्थिक वर्षका लागि उसले ६ करोड डलरभन्दा बढीको सहायता दिने घोषणा गरेको छ ।
एजेन्सी