
राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश सरकार गठनका लागि नयाँ सत्ता समीकरणमा सामेल हुने संकेत गरेको छ । प्रदेश सभामा बहुमत सिद्ध गर्न नसपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको एमाले सरकार ढलेर नयाँ सरकार गठन गर्ने तयारी चलिरहँदा राप्रपाले सत्ता समीकरणमा सहभागी हुने संकेत गरेको हो ।
राप्रपा सांसद सविना बजगाईंले आफूहरू कुनै पनि दलसँग छलफलको लागि खुला रहेको बताइन् । राप्रपाले यसबारे शनिवार अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफलसमेत गरेको छ । झापास्थित लिङदेनको निवासमा भएको छलफलमा राप्रपा कोशी प्रदेशसभा संसदीय दलका नेता, सांसदहरू तथा पार्टीका पदाधिकारी सामेल थिए ।
बैठकमा नयाँ सरकार गठनका विषयमा समेत छलफल भएको उनले बताइन् । छलफलमा मध्यावधिमा जाने/नजाने भन्ने विषय पनि उठेको भन्दै सकेसम्म मध्यावधिमा जानबाट रोक्ने निष्कर्ष निकालिएको उनले बताइन् । उनका अनुसार सरकारमा सहभागी हुने/नहुने निर्णय लिने जिम्मा अध्यक्ष लिङ्देनलाई दिइएको छ ।
गत पुस २४ गते एमालेका हिक्मत कार्की नेतृत्वको सरकार गठन हुँदा राप्रपा पनि सरकारमा सहभागी भएको थियो । तर, राप्रपासमेत सामेल सरकार शुक्रवार विश्वासको मत लिन नसक्दा ढलेको छ । राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएको थियो ।
कार्की सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आन्तरिक तयारी शुरू भएको छ । कांग्रेस र नेकपा माओवादीले सरकारको दाबी गरिरहेका छन् । यद्यपि कसले नेतृत्व लिने भन्ने टुंगिएको छैन ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आइतवार नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी छ । प्रमुख खापुङ संविधानको धारा १६८ को कुन उपधाराअनुसार सरकार गठन आह्वान गर्ने भन्ने विषयमा परामर्शमा रहेका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले दाबी गर्दै आएको छ ।
विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको कारण सोहीअनुसार सरकार गठन हुनुपर्ने जिकिर गरिरहेका छन् ।
अहिले एमालेसँग रहेको राप्रपा विपक्षी गठबन्धनमा सामेल भए सहज बहुमत पुग्छ । विपक्षी गठबन्धनमा कांग्रेससँग २९, माओवादीका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना सांसद छन् । राप्रपाका ६ सांसद सरकारमा सामेल हुन आए ५३ मतसहितको सरकार गठन हुनसक्छ ।
कोशीमा एमाले ४० सांसद छन् ।
कांग्रेस-माओवादीका नेताहरू भने सरकार गठनबारे सल्लाह गर्न काठमाडौं गएका छन् ।