०६ असार २०८३, शनिबार

संघीयतालाई थप बलियो बनाउनका लागि हाम्रो कार्यशैली बदल्नु पर्छ : प्रधानमन्त्री

असार १६, २०८०
काठमाडौं
संघीयतालाई थप बलियो बनाउनका लागि हाम्रो कार्यशैली बदल्नु पर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताएका छन् ।

कास्कीको पोखरामा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन सबैको उत्तिकै सार्थक प्रयास हुनु आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले भने, “सङ्घीयताको मर्म र यसको दीर्घकालीन महत्त्व हामीले बुझेनौं भने यसको फाइदा सङ्घीयताका विरोधीहरूले लिनेछन् । हामीले जति छिटो र राम्रो कार्यसम्पादन गर्छौँ, जनताले त्यति नै मात्रामा सङ्घीयताबाट लाभ लिन सक्छन् । सङ्घीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण छैनन् । समन्वयको प्रभावकारिता पनि जरूरी छ । हाम्रो जोड त्यता हुन जरूरी छ ।”

लामो सङ्घर्ष र पहलपछि देश सङ्घीय गणतन्त्रमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले यो कुनै भावावेशमा गरिएको निर्णय नभएको तथा सुविचारित निष्कर्षका कारण नै हामी अहिले हामी सङ्घीय प्रणालीमा रहेको बताए । उनले यसको व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि हाम्रै भएकाले यसमा चुक्न नहुने धारणा राखे ।

प्रधानमन्त्रीले भने, “कतिपय शक्तिहरू यस (सङ्घीय गणतन्त्र)लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका छन् । त्यसैले लोकतान्त्रिक शक्तिहरूले नै यसको पहल र स्वामित्व लिनुपर्छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि व्यवस्था बलियो बनाउन हामीहरू नै लाग्नुपर्छ ।”

राष्ट्रको स्वाधीनता र समृद्धिको नेतृत्व अरूले गर्न नसक्ने भएकाले लोकतन्त्रभित्र देखिएका समस्या समाधानको हैसियत लोकतान्त्रिक शक्ति र दलले नै सक्ने र यो जिम्मेवारीलाई सत्तापक्ष, प्रतिपक्ष सबैले ठीक ढङ्गले लिन जरूरी रहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्