धूलोधुवाँ र फोहोरका कारण कुरूप र दुर्गन्धित बनेका राजधानीका सडकहरूको चित्र केही हदसम्म भए पनि फेरिन थालेको छ ।
काठमाडौं महानगरपालिकाले राजधानीको मध्य क्षेत्रका मुख्य सडकमा गमला राखेर फूल रोप्न थालेको छ ।
शहरमा हरियाली प्रवर्द्धनका लागि बिरुवा रोप्ने अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले बागबजार र पुतलीसडक आसपासमा गमला राखेको छ ।

चुनाव जितेको वार्षिकोत्सवको अवसरमा हरितकरण गर्ने योजनाअन्तर्गत मेयर बालेन साहको निर्देशनमा वृक्षारोपण गरिएको २८ नम्बर वडाका अध्यक्ष भाइराम खड्गी (प्रकाश)ले जानकारी दिए ।
'महानगरपालिकाको निर्देशनमा वडाको बजेटबाट बागबजार, पुतलीसडक वरपर हरियाली बनाउने कामआगाडि बढेको हो,' उनले लोकान्तरसँग भने।

हरियाली प्रवर्द्धनका लागि बागबजारमा सडकपेटीको दायाँबायाँ गमलासहित फूल र पुतलीसडकमा वृक्षारोपण कार्य सम्पन्न भइसकेको अध्यक्ष भाइराम खड्गीले बताए। साथै बोटबिरुवाको सुरक्षाका लागि भनेर बकेट राख्ने योजना समेत रहेको उनले बताए ।
महानगरले सडक पेटीमा गमला राखेर फूल तथा विरुवा रोप्न थालेपछि स्थानीयले पनि खुशी व्यक्त गरेका छन् ।

'पहिला पसल अगाडि नै ल्याएर फोहोर फालिदिन्थे, अहिले महानगरले बिरुवा रोपेर गएको छ, मेयर बालेनलाई धेरै-धेरै धन्यवाद,' पुतलीसडकमा २ वर्षदेखि कम्प्युटर पसल सञ्चालन गर्दै आएकी सुष्मिता काफ्लेले खुशी हुँदै भनिन् ।
आफूहरूले केही परिवर्तन महसूस गर्न थालेको उनको भनाइ थियो ।
'मैले पसल खोलेको २ वर्षमा पहिलोचोटी परिवर्तन महसूस गरेकी छु,' उनले भनिन्, 'मेयरसाब काठमाडौंको नक्सा नै परिवर्तन गर्न लाग्नुभएको छ, उहाँलाई धेरै बधाई छ ।'
१५ वर्षदेखि पुतलीसडक चोकनजिक फेन्सी पसल सञ्चालन गर्दै आएका लक्ष्मण महर्जनले पनि यसरी फूल तथा अन्य बिरुवा रोप्नु सकारात्मक भएको बताए ।

'हरियाली बनाउने भनेको त धेरै राम्रो हो नि ! विदेशी पर्यटक आउँदा पनि हाम्रो देशको बारेमा राम्रो सन्देश जान्छ,' उनले भने ।
ठूला र पुराना दलहरू निकम्मा बनिसकेको भन्दै उनले बालेनले दाबबमुक्त भएर काम गरिरहेको भनी प्रशंसा गरे ।
उनले बिरुवाको संरक्षणका लगि हेरचाह गर्ने एक जना व्यक्ति समेत व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
'चोरेर लैजान सक्छन्, चुँडाल्न सक्छ, कसैले उखेलिदिन सक्छ, बिरुवामा दैनिक जसो पानी हाल्नुपर्ने हुन्छ, त्यसका लागि पनि एक जना त चाहिन्छ,' उनले सुझाव दिए ।

आफूले हातमुख धुन प्रयोग गरेको पानी बिरुवामा हाल्न थालेको पनि उनले बताए । 'यो हाम्रो पनि दायित्व हो नि !' महर्जनले भने ।
त्यसक्रममा बाटोमा हिँड्ने कतिपय पैदल यात्रुहरूले समेत गमलाको संरक्षणका लागि चासो व्यक्त गरिरहेका भेटिए ।
चोरीबाट बचाउन र त्यसको संरक्षणका लागि आसपासका बासिन्दा तथा पसलेहरूले ध्यान दिनुपर्ने उनीहरूको सुझाव थियो ।
हेर्नुहोस्, भिडियो :