२३ असार २०८३, मंगलबार

कसुर अनुसन्धान गर्ने निकायहरूबीच छलफल

असार १९, २०८०
काठमाडौं
कसुर अनुसन्धान गर्ने निकायहरूबीच छलफल

कसुरको अनुसन्धान गर्ने निकायहरूबीच छलफल भएको छ । राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराधसम्बन्धी अभिलेखको सूचना आदानप्रदानका विषयमा मंगलवार प्रहरी प्रधान कार्यालय नक्सालमा छलफल भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुर अनुसन्धान गर्ने निकायहरू राष्ट्रिय अपराध सूचना केन्द्रमा आबद्ध भएमा सूचनाको आदानप्रदानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुने बताए ।

सूचना केन्द्रलाई पूर्णरूपमा कार्यान्वयन गरी सबै सरोकारावाला निकायहरूबीच आपसी सहयोग एवं समन्वय गरी सूचना आदान प्रदान गर्नुपर्नेमा उनले जोड दिए । व्यक्तिको गोपनीयता र मौलिक हकलाई मध्यनजर गर्दै अनुसन्धानलाई सहजीकरण गर्नका लागि कुनै पनि अपराधमा संलग्न रहेका व्यक्तिहरूको विवरण आदानप्रदान गर्न सकेमा कसुर अनुसन्धान गर्ने निकायहरू लाभान्वित हुने उनको विश्वास छ ।

सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले कार्यक्रमको विषयवस्तु र उद्देश्यका बारेमा जानकारी दिएका थिए । 

सूचना केन्द्र साझेदारीको आवश्यकता, नेपाल प्रहरीलाई प्राप्त जिम्मेवारी, हालसम्मको प्रगति, कार्यान्वयनका लागि गर्नुपर्ने कार्यहरू, तत्काल गर्न सकिने कार्यहरू लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्यले राष्ट्रिय अपराध सूचना केन्द्रको परिचय र स्थापनाको उद्देश्य लगायतका विषय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, राजश्व अनुसन्धान विभागका महानिर्देशक, वैदेशिक रोजगार विभागका महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता, प्रहरी नायब महानिरीक्षकहरू, वन तथा भू–संरक्षण विभागका उप–महानिर्देशक, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिवालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइका प्रतिनिधिलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्