
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् ।
आज कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताए ।
उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारवाही शुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारवाही गरिन्छ ।”
पछिल्लो समय माओवादी शक्तिहरुबीचको एकताको राम्रो आधार बन्दै गइरहेको उल्लेख गर्दै उनले वृहत् कम्युनिस्ट एकतासहित अगाडि बढिने बताए । “२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं तर, पार्टी एकताबद्ध हुनसकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो”, प्रधानमन्त्री दाहालले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र वृहत् एकतासहित अगाडि बढिन्छ ।”
वर्तमान सरकारले जन चाहनाअनुसार आफ्नो काम कारवाही अगाडि बढाएको जनाउँदै उनले राम्रा काम गर्न थालेपछि सरकारलाई अप्ठ्यारोमा पार्ने षड्यन्त्र शुरु गरिएको बताए ।
“घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो”, उनले भने, “यो आफैंमा वर्गसङ्घर्ष हो । वर्गसङ्घर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो । २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरी परिणाम दिनुपर्छ, दिन्छौं ।”
सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू जहिले पनि समर्पित हुने दृढता व्यक्त गर्दै उनले सरकारलाई असफल पार्ने तत्वलाई जनताले तह लगाउने बताए ।