
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४५ हजार रुपैयाँ घुस रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव रहेका छन् ।
उनलाई आयोगको बुटवलबाट खटिएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पीसीसी र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेका थिए ।
सोही विषयको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।