
कोशी प्रदेश सरकार निर्माणका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन अब १ दिन मात्रै बाँकी छ । प्रदेश प्रमुखले असार २१ साँझ ५ बजेसम्मको समय दिएका छन् तर हालसम्म दलहरूले बहुमत जुटाउन सकेका छैनन् ।
केन्द्रीय सत्ता गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सहमति गरेको छ । अहिलेसम्म थापाको नेतृत्वमा बहुमत पुगेको छैन ।
थापाले राप्रपाको आश गरे पनि अहिलेसम्म राप्रपाले कुनै निर्णय गरेको छैन ।
राप्रपा कोशी प्रदेश संसदीय दलले सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ तर अहिलेसम्म राजेन्द्र लिङ्देनले कुनै निर्णय गरिसकेका छैनन् तर पछिल्लो समय लिङ्देन कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने पक्षमा देखिन थालेका छन् ।
लिङ्देनसँग कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्रीका दाबेदार उद्धव थापाले पटक–पटक भेट पनि गरेका छन् तर त्यो भेटले कुनै निष्कर्ष निकाल्न सकेन । अहिले कोशी प्रदेशको सरकार निर्माणको प्रक्रियामा कांग्रेस र एमाले नै मिलेर सरकार बनाओस् भन्ने चाहना रहेको लिङ्देनले बताए ।
राप्रपाले साथ नदिएको खण्डमा सभामुखको नाम लिएर गठबन्धनमा आबद्ध दल गए मात्रै उद्धव थापा नेतृत्वको सरकार बन्न सक्छ । अहिले सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली कांग्रेसकै सांसदहरू डराउन थालेका छन् । बहुमत नहुँदा एमालेसँग मिलेर कांग्रेसले भोलि सरकार बनाउला कि भन्ने डर माओवादीमा छ भने भर्खर सरकार छाडेर आएकाले एमालेसँग माओवादी मिल्न जाला कि भन्ने डर कांग्रेसमा छ ।
कांग्रेसलाई राप्रपाले साथ नदिने बुझेपछि माओवादी केन्द्रले पनि एमालेसँग मिलेर सरकार बनाउने तर्क गर्न शुरू गरिसकेको छ । नेपालको संविधानको धारा १६८ (२) मा बन्ने सरकारमा गठबन्धनको बहुमत नपुगे विकल्प खोज्नुपर्ने आवाज माओवादी नेताहरूले उठाउन थालेका छन् ।
‘१६८(३) मा नपुगी नै विकल्प खोज्नुपर्छ,’ माओवादी केन्द्र कोशी प्रदेश कमिटीका सचिव समेत रहेका प्रदेशसभा सदस्य गणेश उप्रेतीले भने, ‘कांग्रेसले बहुमत पुर्याउन सक्दैन भने अरूलाई बाटो खुला गरिदिनुपर्छ ।’
मुख्यमन्त्री हिक्मत कार्कीले भने यसअघिदेखि नै सहमतिको सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।
माओवादीले सभामुखको नाम लिएर सरकार बनाउन जान नपाइने अडान राख्दै आएको छ । राप्रपाले साथ नदिँदा सभामुखबाहेक गठबन्धनलाई सरकार बनाउन संख्या पुग्दैन । सरकार बनाउन ४७ सांसदको आवश्यकता पर्छ तर अहिलेसम्म गठबन्धनसँग ४६ सांसद मात्रै छन् । एमाले–राप्रपासँग पनि ४६ सांसद छन् ।
एमालेले १ महिनापछि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेको छ । संविधानको धारा १६८(३) अनुसार सरकार बन्दा हिक्मत कार्कीकै नेतृत्वमा बन्ने भएकाले अहिले कुनै टाउको नदुखाउने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । १६८(३) मा ठूलो दलले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको छ । कोशीमा एमाले सबैभन्दा ठूलो दल हो । एमालेसँग ४० सांसद छन् ।