
नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ ।
नर्भिक आईभीएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि साउन २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो ।
उक्त सर्जरी प्याकेजमा नर्भिक आईभीएफकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टीमले बिरामीको शल्यक्रिया एवं उपचार गर्नेछ ।
सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेशन, पाठेघरको ट्युमर, शिष्टलगायत पाठेघरको कुनै पनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रियाहरू समेटिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
कुनै पनि महिलाको बच्चा नहुने अप्रेशन गर्न वा त्यस्तो अप्रेशनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यससँग सम्बन्धित बिरामीले पनि क्याम्पमा सहभागिता जनाउन सक्ने हस्पिटलकी वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. शर्माले बताइन् ।
नर्भिक हस्पिटलको सेवामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्ने मुख्य उद्देश्यसहित पहिलो चरणमा नर्भिक आईभीएफबाट भारी छुटसहितको एक महिने विशेष सर्जरी प्याकेज सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।
यो प्याकेजमा सहभागी हुन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउनुपर्ने अस्पतालले जनाएको छ । नाम दर्ताका लागि हस्पिटलको हटलाइन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न सकिनेछ ।
सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीहरूलाई ओपीडी शुल्क निःशुल्क गरिएको छ भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत पैसा लाग्ने छैन ।
विभिन्न कारणले सर्जरीका लागि पालो पर्खिएका वा सर्जरीको योजनामा रहेका बिरामीले डा. शर्मासँग निःशुल्क परामर्श गराई आफ्नो सुविधाअनुसार दुरविन प्रविधिबाट शल्यक्रिया गराउन सक्नेछन् ।
दुरविन प्रविधिबाट गरिने अप्रेशन बिरामीका लागि निकै सुविधायुक्त र फाइदाजनक मान्ने गरिन्छ ।
अस्पतालको बसाई कम हुने, घाउ छिटो निको हुने, हर्नियाको जोखिम कम हुने लगायतका फाइदाका कारण पनि ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीको आकर्षण पछिल्लो समय बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।