काठमाडौं, २६ भदौं– यस बर्षको लोकप्रिय खेलाडीका रुपमा एथलेटिक्सकी कान्छीमाया कोजुले अवार्ड हात पारेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा उनले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी हुन् ।
मोबाइलमा एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा लोकप्रिय खेलाडीको छनौट गरिएको हो । उनले कुल ९५ हजार ७ सय २६ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै सवोत्कृष्ट खेलाडीको महिलातर्फको अवार्ड ब्याडमिन्टनकी नङसल तामाङ र पुरुषतर्फको फुटबलका किरण चेमजोङले जितेका छन् ।
जुडो खेलमा योगदान गरेकोमा बन्दी सहायता नियोग केन्द्रलाई स्पेशल अवार्ड र यसबर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड गल्फ खेलका घनश्याम थापालाई प्रदान गरिएको थियो । यस बर्षको युवा खेलाडीमा जुडोकी मनिता श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकका रुपमा एथलेटिक्सका पुष्पराज ओझा, पारा एथलेटिक्स विधा अन्तर्गत क्रिकेटका पदम बढेलले अवार्ड जितेका छन् ।