काठमाडौँ, २७ भदौ - सरकारले असोज २ गते सम्पन्न हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने योजना तयार गरेको छ ।

निर्वाचन सुरक्षाका लागि केन्द्रीय र जिल्लास्तरीय सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा समेत ल्याइसकेको गृहमन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकुमार सुवेदीले निर्वाचन शान्तिपूर्ण मात्र नभई उल्लासमय जनसहभागितामा सम्पन्न हुने गरी सुुरक्षा योजना तयार गरेको जानकारी दिए ।
उम्मेदवारी दर्तादेखि चुनावी चहलपहल शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्मरण गराउँदै प्रवक्ता सुवेदीले भने, ‘प्रदेश–२ मा निर्वाचन शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न राज्यको सम्पूर्ण निकाय सक्रिय छन् । ’
प्रदेश–२ को सम्पूर्ण जिल्ला छिमेकी देश भारतसँंग जोडिएकाले सम्भावित अपराधका घटना नियन्त्रण गर्न सीमाक्षेत्रमा तैनाथ दुई देशका उच्च पदाधिकारीहरूबीच छलफल भइसकेको छ । निर्वाचन सुरक्षाका लागि असोज १, २ र ३ गते नेपाल–भारत नाका बन्द गर्ने तयारी भइरहेको छ ।
उनले तीन दिन (७२ घण्टा) बोर्डर सिल गर्ने निर्णय भएको जानकारी दिए । निर्वाचन सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गरी करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेश–२ को स्थानीय निर्वाचनमा बाक्लो सुरक्षा उपस्थितिसँगै नियमित चेकजाँच, गस्ती, उम्मेदवारको सुरक्षाव्यवस्था र भूमिगत शैलीमा राजनीति गर्दै आएका केही राजनीतिक पार्टीमाथिको निगरानीसँगै सुरक्षा व्यवस्था प्रभावकारी रहेको गृह प्रशासनले जनाएको छ, गोराखापत्रमा खबर छ ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । तीमध्ये सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।