
भारतको पश्चिम बंगालमा आज शनिवार पञ्चायत चुनाव हुँदैछ । राज्य चुनाव आयोगका अनुसार २२ जिल्लाका ६३ हजार २२९ ग्राम पञ्चायत सिट, ९ हजार ७३० पञ्चायत सिट र ९२८ जिल्ला परिषद्का सिटमा चुनाव हुँदैछ ।
चुनावमा ५ करोड ६७ लाख २१ हजार २३४ मतदाताले मतदान गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावको नतिजा ११ जुलाइमा आउनेछ ।
चुनाव घोषणा भएको दिन ८ जुनदेखि बंगालमा हिंसा भड्किएको छ । पछिल्लो ३० दिनमा हिंसामा परेर १८ जनाको मृत्यु भएको छ । विभिन्न पार्टीका नेता, कार्यकर्ता एकआपसमा भिड्ने गरेका छन् ।
शान्ति सुरक्षा कायम गर्न केन्द्रीय बलका ४८५ कम्पनीका ६५ हजार जवान तैनाथ गरिएका छन् ।