
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ ।
वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
‘डढेलोबाट वनजंगलको विनाश मात्र हुने नभई यसबाट पर्ने वातावरणीय असरले जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ,’ उनले भने, ‘यसलाई रोकथाम र नियन्त्रणका लागि सिंगो गाउँपालिकालाई नै डढेलोमुक्त गाउँपालिका घोषणा गरिएको हो ।’
पालिकाभित्रका धेरैजसो जंगलमा सिकारीले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले नीति बनाउन लागेको अध्यक्ष लामाले जानकारी दिए । ‘सिर्दीबास क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ,’ उनले भने, ‘शिकारीले शिकारका लागि समेत डढेलो लगाउने गरेका पाइएकाले पालिकालाई नै डढेलोमुक्त क्षेत्र घोषणा गरी कडाइका गर्न लागिएको हो ।’
गाउँपालिकालाई डढेलोमुक्त बनाउन सके मात्र प्रदूषणमुक्त गाउँपालिका निर्माण गर्न सकिने भएकाले डढेलो रोकथाम र नियन्त्रणलाई गाउँपालिकाले प्राथामिकता दिएको उनले बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाउने घोषणा कार्यान्वयनका लागि गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) सँग पनि समन्वय गरेर काम गर्ने अध्यक्ष लामाको भनाइ छ ।
यसका लागि गाउँगाउँमा जनचेतना फैलाउने योजना गाउँपालिकाले बनाएको उनले बताए । ‘डढेलोका कारण पुग्ने क्षति, वातावरणमा पुग्ने असर, वन्यजन्तुको विनाश लगायतका जनचेतना गाउँगाउँमा फैलाउनु आवश्यक छ,’ अध्यक्ष लामाले भने, ‘भौगोलिक विकटता भएको गाउँपालिका भएकाले एमक्यापसँग समन्वय र सहकार्य गरी ड्रोनमार्फत पनि सचेतना फैलाउने र टोलटोलमा सचेतना प्रदान गर्ने योजना छ ।’
प्रदूषणमुक्त गाउँपालिका निर्माणका लागि पालिकाभित्रका खाली जमिनमा वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको उनले जानकारी दिए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका करीब १०३ वर्षअघिदेखि शान्ति र अहिंसाको क्षेत्रका रूपमा पनि परिचित छ ।