०९ साउन २०८३, शनिबार

दुई महिनाको बीचमा दुई बहालवाला सचिव पक्राउ

असार २४, २०८०
काठमाडौं
दुई महिनाको बीचमा दुई बहालवाला सचिव पक्राउ

दुई महिनाको अवधिभित्र दुई बहालवाला सचिव पक्राउ परेका छन् ।

आइतवार ललितानिवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।

यसअघि गत वैशाख २० गते  उपराष्ट्रपति कार्यालयमा बहालमै  रहेको समयमा सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । उनलाई नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरिएको थियो ।

सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार आइतवार पक्राउ परेका सचिव राउत आफ्नो घर उदयपुर जान भनेर हिँडेका थिए ।

'बुबा बिरामी भएकाले घर जान्छु, जनकपुर वा विराटनगर हुँदै उदयपुर जाने भनेर हामीलाई भन्नुभएको थियो,' सुवेदीले लोकान्तरसँग भने ।

आइतवार मन्त्रालयमा ३ बजेसम्म बसेर काम पनि गरेका थिए । प्रवक्ता सुवेदीका अनुसार आज धेरै बैठकहरूमा समेत उनी सहभागी भएका थिए ।

'राष्ट्रिय प्रसारण नियमावली बनाउने विषयमा बसेको बैठकमा पनि उहाँ सहभागी हुनुभएको थियो,' सुवेदीले लोकान्तरसँग भने, 'त्यसपछि हरेक आइतवार बिहान हुने सिनियर म्यानेजमेन्ट टीमको बैठकमा पनि उहाँ सहभागी हुनुभएको थियो ।'

ललितानिवास प्रकरणमा आफूसमेत मुछिएको विषयमा भने राउतले मन्त्रालयमा कसैसँग कुरा गरेका थिएनन् ।

'एउटा शाखा अधिकृतको हैसियतमा उहाँले गर्नुभएको काम सामान्य नै होलाजस्तो लागेको थियो,' उनले थपे, 'तर, अहिले उहाँ पक्राउ परेपछि सञ्चार मन्त्रालय नै मुछिएकोजस्तो भयो । कस्तो–कस्तो भयो जस्तो लागेको छ ।'

घर जानका लागि राउतले सञ्चारमन्त्री रेखा शर्मालाई समेत जानकारी गराएका थिए ।

सचिव राउत माधव नेपाल प्रधानमन्त्री रहेको समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका शाखा अधिकृत थिए ।

ललितानिवास प्रकरणमा प्रहरीले ५ जना पूर्वसचिवविरुद्ध समेत अदालतबाट पक्राउ पुर्जीको अनुमति लिइसकेको छ ।

मन्त्रालयको आर्थिक प्रशासन शाखामा अधिकृत रहेको समयमा जग्गा सट्टा भर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्नेसम्बन्धी टिप्पणी उठाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ललितानिवास काण्डमा तत्कालीन भौतिक योजना मन्त्री विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाइसकेको छ ।

ललितानिवास प्रकरणमा बहालवाला सचिव पक्राउ परेसँगै अन्य पूर्वसचिव तानिने सम्भावना बढेर गएको छ ।

यसअघि पक्राउ परेका सचिव पाण्डे गृहसचिव भएको बेलामा पीडितहरूबाट रकम लिएर भुटानी शरणार्थीसम्बन्धी नक्कली प्रतिवेदन बनाउन भूमिका निर्वाह गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतको आदेशबाट अहिले उनी सुन्धारास्थित केन्द्रीय कारगार जग्गनाथदेवलमा थुनामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्