
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ ।
लमसुङमा १ तले ५ कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो ।
भवन निर्माणका लागि विक्रम संवत् २०७७ सालमा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन गर्ने लक्ष्य थियो ।
भवनको शनिवार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गरेका थिए । भवनमा वडाध्यक्ष, सचिव, भण्डारणको कार्यकक्ष रहेका छन् ।
कोरोना महामारी, बाढी, पहिरोको प्राकृतिक विपत्तिका कारण भवन निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि रेशमबहादुर भण्डारीले बताए । ‘१ वर्षअघि नै भवन निर्माण सकिएको थियो,’ उनले भने, ‘प्राविधिक कारणले हालै मात्र भवन हस्तान्तरण भएको छ ।’
यसअघि स्वास्थ्य चौकीको पुरानो भवनबाट सेवा सञ्चालन हुँदै आएको थियो । यसै हप्तादेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष अकप्रसाद विले बताए । आफ्नै भवनमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाह सहज हुने उनले बताए ।
वडा कार्यालयमा फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सामग्रीको अभाव भएको वडा सचिव गिरिराज शर्माले बताए । गाउँपालिकाका अध्यक्ष पुनले वडा कार्यालयमा आवश्यक सामग्रीको तत्कालै व्यवस्थापन गरिने बताए ।
धौलागिरि गाउँपालिकाको वडा नम्बर ७ को पनि कार्यालय भवन निर्माण भएको छ । विक्रम संवत् २०७७ सालमा ४ कोठे भवन निर्माणका लागि ४७ लाखमा डोल्पो कन्ट्रक्सनले ठेक्का पाएको थियो । ६६ लाख लागत अनुमान गरिएको वडा कार्यालय भवन विक्रम संवत् २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्य थियो ।
नयाँ भवनबाट सेवा प्रवाह शुरू गर्ने तयारी गरेको वडाध्यक्ष अशोक खत्रीले बताए । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समितिले ३० लाख विनियोजन गरेको थियो । भवन निर्माणका लागि टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा दान गरेका थिए ।