
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई पत्र लेख्ने दलले नै प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे प्रश्न उठाउनु अस्वाभाविक भएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा स्पष्टीकरण दिँदै प्रचण्डले जसले प्रधानमन्त्री बनाउन पत्र लेख्यो उसैले दिल्लीले प्रधानमन्त्री बनायो भन्नु आश्चर्यको विषय भएको बताए । ‘मलाई प्रधानमन्त्री कसले बनाउँछ ? मैले यो प्रश्न प्रतिपक्षी दलका ती साथीहरू सोध्न चाहन्छु– जसले मलाई प्रधानमन्त्री बनाउनुभयो। मलाई प्रधानमन्त्री सदरादर प्रितम सिंहले दिल्ली गएर बनाएर ल्याएको त होइन ?’ प्रचण्डले भने, ‘प्रतिपक्षी दलका नेता (केपी शर्मा ओली)लाई राम्रो थाहा छ, म प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने प्रमुख प्रतिपक्षी दलका नेतालाई राम्रो थाहा छ ।’
असाधारण प्रक्रियाबाट गुज्रेर आफूहरू आइपुगेको भन्दै प्रचण्डले प्रश्न गरे–‘राष्ट्रपतिलाई आफैंले लेखेको पत्रप्रति प्रश्न किन उठाइयो भन्ने प्रश्न म भित्र उठेको छ,’ प्रचण्डले भने ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने आफ्नो अभिव्यक्तिको बचाउँ गर्दै प्रचण्डले प्रितम सिंह कसैलाई प्रधामनन्त्री बनाउने हैसियतको मान्छे नभएको बताए ।