
काठमाडौं, २७ भदौ — भारतको रोहतकस्थित सुनारियाँ जेलमा २० वर्षको सजाय काटिरहेका गुरमीत राम रहीमले मखमली गद्दा छोडेर सिमेन्टको बेडमा सुत्नुपरेको छ । यसैले उनलाई सुत्न गाह्रो भइरहेको छ ।

सूत्रहरूका अनुसार राम रहीम रातभरि चिच्याउँछन् र मेरो दोष के हो भनी प्रश्न गरिरहन्छन् ।
उनलाई चिनीको र कम्मर दुख्ने समस्या छ । त्यसैले जेलको अस्पतालमा नै उनको उपचार चलिरहेको छ ।
चिकित्सकहरूले उनको डायट चार्ट नै बनाएका छन् । यी चार्ट अनुसार खानेकुरा र औषधि उनलाई दिइँदै आएको छ । बिहान उनी चिनी नहालेको कालो चिया पिउँछन् ।
राम रहीमको स्वास्थ्य गत शनिवारदेखि आजसम्म दुईचोटि बिग्रिसकेको छ ।
उनले जेल प्रशासनसमक्ष आफूलाई अस्पतालमा भर्ना गरिनुपर्ने माग गरेका थिए । चिकित्सकहरूले उनलाई पीजीआई लानुपर्ने सिफारिस गरेपनि प्रहरीले लान मानेनन् ।
साध्वीहरूलाई बलात्कार गरेको आरोपमा बाबा गुरमीत राम रहीमलाई २० वर्षको कारावास सजाय दिइएको छ ।
एजेन्सी