
काठमाडौं, २८ भदौ — म्यान्मारमा रोहिंग्या संकट गहिरिँदै गएपछि स्थिरता कायम राख्नका लागि त्यहाँको सरकारलाई चीनले समर्थन गर्ने जनाएको छ । अहिलेको संकटका कारण तीन लाखभन्दा बढी रोहिंग्या मुसलमानहरू बंगलादेशतर्फ भागेका छन् ।

भदौ ९ गतेदेखि भड्केको हिंसापछि त्यति धेरै रोहिंग्याहरू बंगलादेशतिर भागेको आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय नियोगले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकारका उच्च अधिकारीले म्यान्मारमा क्रूर सैन्य कारवाही चलाइएको र जातिसफाया गरिएको भनी निन्दा गरेका छन् ।
बहुसंख्यक बौद्धहरू भएको देशमा आफ्ना सुरक्षाबलहरूले रोहिंग्या लडाकुहरूसँग लडाईं गरिरहेको र नागरिकलाई हानि पुग्नबाट जोगाउनका लागि सबै प्रयत्न गरिरहेको म्यान्मार सरकारले जनाएको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता गेङ शुआङले राखिने प्रान्तमा भएको हिंसालाई चीनले निन्दा गरेको बताएका छन् ।
स्ट्रेट टाइम्सका अनुसार उनले भने, ‘हामीहरू राखिनेमा शान्ति र स्थिरता कायम गर्ने म्यान्मारको प्रयत्नलाई समर्थन गर्छौं । त्यहाँ छिट्टै सामान्य अवस्था फर्किने हामी आशा गर्छौं ।’
उनले थपे, ‘हामीहरू म्यान्मारले राष्ट्रिय विकासका लागि गरेको स्थिरता प्रयासलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्नुपर्ने विचार राख्छौं ।’
सरकारले अहिलेसम्म राखिनेमा २०० जना मारिएको बताएको छ ।
अमेरिकाले भने रोहिंग्या मुसलमानहरूलाई हिंस्रक तरिकाले हटाएबाटै बर्माको सुरक्षाबलले नागरिकको सुरक्षा नगरेको प्रस्ट हुने बताएको छ ।
एजेन्सी