
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरो पीडित २ वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।
विक्रम संवत् २०७९ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ ।
पहिराले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन । पहिरोबाट विस्थापित परिवारमध्ये २५ परिवार चित्रे, १२ परिवार बखल्टुमटार र अन्य खाँदबारीमा अस्थायीरूपमा बसिरहेका गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिए ।
‘भवन निर्माणका लागि बजेटको अभाव छ,’ उनले भने । गाउँपालिकाले पहिरो पीडितको आवास निर्माणका लागि ५ लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
पहिरो पीडितका लागि संघीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । पानी पर्न थालेपछि उनीहरूलाई घर बगाउने चिन्ता रहन्छ ।
जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन् । गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरिसकेको छ तर भवन निर्माणको भने टुंगो लागेको छैन ।