
काठमाडौं, २७ भदौ — भारतको पश्चिम बंगालबाट छुट्टिएर गोर्खाल्यान्ड बनाउने विषयमा चलिरहेको आन्दोलन टुंग्याउनका लागि सिलिगुडीमा सर्वदलीय वार्ता भइरहेको छ । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चा र अन्य पहाडी दलले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग दुईवटा महत्त्वपूर्ण विषयमा कुराकानी गर्दैछन् ।

दार्जीलिङमा विगत ९० दिनदेखि चलिरहेको अनिश्चिकालीन आमहडताल टुंग्याउनेबाहेक केन्द्र सरकारसँग त्रिपक्षीय वार्ता गर्नेसम्मका कुराकानी भइरहेका छन् ।
यो बैठकमा भाग लिन शुरुमा अस्वीकार गरेको भएपनि गोजमोले सात सदस्यीय प्रतिनिधिमण्डल पठाएको महासचिव रोशन गिरीले बताएका छन् ।
गोजमोका नेता विनय तामाङ र अनित थापाले बैठकमा भाग लिनेछन् । यी दुई नेताले आन्दोलनबाट हात झिकेको घोषणा गरेपछि गोजमो प्रमुख विमल गुरुङले पार्टीबाट निष्काशन गरेका थिए ।
गोजमो लगायत चार पहाडी दलका नेताले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसँग शुक्रवार भेटघाट गरेर त्रिपक्षीय वार्ताको अनुरोध गरेका थिए ।
एजेन्सी