१२ असार २०८३, शुक्रबार

आँबुखैरेनीका कर्मचारीको उदाहरणीय काम, आफ्नै पारिश्रमिकबाट प्रदान गरे अस्पताललाई थाइराइड मेसिन

असार २९, २०८०
तनहुँ
आँबुखैरेनीका कर्मचारीको उदाहरणीय काम, आफ्नै पारिश्रमिकबाट प्रदान गरे अस्पताललाई थाइराइड मेसिन
फाइल फोटो

तनहुँको आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई दश लाखभन्दा बढी मूल्यको थाइराइड मेसिन प्रदान गरेका छन् । 

गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेसिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् ।  

गाउँपालिकामा दरबन्दी र करारका गरी एक सय ३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेसिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेसिन खरिद गरी अस्पताललाई प्रदान गर्ने विषयमा सर्वसम्मत निर्णय भएपछि सहयोग गरेको उनले बताए । 

प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतका कर्मचारीले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. धनबहादुर क्षेत्रीलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा थाइराइड परीक्षण गर्ने मेसिन नहुँदा थाइराइडका बिरामी उपचारका लागि अन्यत्र धाउनु परेकाले मेसिन आएपश्चात् सहज हुने विश्वास गाउँपालिकाले गरेको छ । 

गाउँपालिकाभित्र धेरै थाइराइडका बिरामी रहेकाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेपछि कर्मचारीले मिलेर मेसिन खरिद गरी अस्पताललाई दिएपछि उपचारमा सहज भएको छ । 

गाउँपालिकाभित्रका नागरिकले सहज रुपमा घरदैलोमा सेवा पाउने हुँदा सबै कर्मचारीको सकारात्मक सहयोगबाट मेसिन खरिद कार्य सहज हुने उनले बताए । कार्यालय सहयोगी, सुरक्षा गार्ड, सरसफाइ क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीलाई यस अभियानमा सहयोग गर्न अनिवार्य नगरिए पनि स्वस्र्फूत आफूले सकेको आर्थिक सहयोग गरेका थिए । 

उक्त अभियानलाई सफल बनाउन अहोरात्र खटिने कर्मचारीप्रति प्रमुख प्रशासकीय अधिकृत शर्माले धन्यवाद व्यक्त गरे ।

उक्त कार्यका लागि गाउँपालिका मातहतका सबै कर्मचारीले तहअनुसारको तलबबाट सहयोग रकम कट्टा गरी अस्पताललाई मेसिन प्रदान गरेर उदाहरणीय कार्य प्रस्तुत गरेका गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।

गाउँपालिकामा कार्यरत कर्मचारीले आफ्नै पारिश्रमिकबाट अस्पतालका लागि थाइराइड मेसिन खरिद गरी हस्तान्तरण गरेपछि स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्