०८ साउन २०८३, शुक्रबार
हवाई टिकटमा कर

वायुसेवा कम्पनीहरू भ्याट तिर्न तयार, साउनदेखि हवाई टिकटको मूल्य १३ प्रतिशत महंगिने

असार २९, २०८०
काठमाडौं
वायुसेवा कम्पनीहरू भ्याट तिर्न तयार, साउनदेखि हवाई टिकटको मूल्य १३ प्रतिशत महंगिने
फाइल फोटो

​सरकारले हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न अन्ततः वायुसेवा कम्पनीहरू तयार भएका छन् ।

१५ जेठमा घोषणा भएको नयाँ कर १६ असारबाटै लागू भएको भए पनि वायुसेवा कम्पनीहरूले यसलाई कार्यान्वयन गर्न मानिरहेका थिएनन् ।

सरकारले १५ जेठमा घोषणा गरेको करको नयाँ दर ३० दिनभित्र लागू भइसक्नुपर्ने कानूनी व्यवस्था छ । सो व्यवस्थाअनुसार १६ असारदेखि कानूनतः उक्त कर लागू भइसकेको छ । 

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १० उपदफा (२) अनुसार मूल्य अभिवृद्धि कर लागेको ३० दिनभित्रै त्यस्तो कर संकलन गर्ने व्यवस्था बनाइसक्नुपर्ने हुन्छ ।

उक्त व्यवस्थाविपरीत पहिलोपटक भ्याट लागेका वायुसेवा कम्पनीहरू भ्याटमा नजाने भन्दै अड्डी कसेर बसेका थिए । 

सरकारले पर्यटन क्षेत्रअन्तर्गत हवाई क्षेत्रलाई पनि सेवामूलक उद्योगको सूचीमा राखेर हालसम्म भ्याट फ्री गरेको छ । अब यो क्षेत्रमा पनि भ्याट लागेको छ । 

कर ऐनले गरेको व्यवस्थाअनुसार सरकारले घोषणा गरेको विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्क र वैदेशिक रोजगार सेवा शुल्कसहित तीनवटा शीर्षकमा नयाँ कर व्यवसायीले तिर्न थाल्नुपर्ने छ । 

उक्त व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता हुन र कर तिर्न आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गरिसकेको छ ।

कर कार्यान्वयन गराउने निकाय आन्तरिक राजस्व विभाग भएकाले कानूनअनुसार कर तिर्नुपर्ने र अन्यथा कारवाही हुने विभागको भनाइ छ । 

आन्तरिक राजस्व विभागको ताकेता र सरकारले कानूनअनुसार जरिवाना लिन सक्ने व्यवस्थाका कारण आन्तरिक वायुसेवा कम्पनीहरू भ्याटमा दर्ता हुन तयार भएका हुन् ।

ढिलोचाँडो सरकारले गरेको व्यवस्थाअनुसार भ्याटमा जानैपर्ने भएकाले १ साउनदेखि आफूहरू हवाई टिकटमा कर तिर्न तयार भएको आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले बताए ।

सरकारले हवाई क्षेत्रमा पहिलोपटक भ्याट लगाएकाले यसलाई सहजै तिर्न कार्यविधि आवश्यक भएको सम्बन्धित वायुसेवाको भनाइ छ । 

यसअघि वायुसेवा कम्पनीलाई सेवामूलक उद्योगको सूचीमा राखेर सरकारले भ्याट छूट दिँदै आएको थियो । 

सरकारले भ्याट लगाउने भनेपछि अब सबै आन्तरिक वायुसेवा भ्याटमा दर्ता हुने र हवाई भाडाको कुल लागतमा कर लाग्ने भएको छ । 

हवाई टिकटमा कर लागेपछि स्वाभाविकरूपमा १३ प्रतिशतले टिकट महंगो हुने कार्कीले बताए ।

सबै वायुसेवा भ्याटमा जाने भएकाले टिकटको बिक्री मूल्यमै भ्याट लाग्छ । भ्याटसहित टिकटको दर सार्वजनिक हुने भएपछि यात्रुले जहाँबाट टिकट काटे पनि भ्याट तिर्नुपर्ने हुन्छ । 

हाल नेपालमा ९ वटा नियमित उडानका वायुसेवा कम्पनी छन् भने १२ वटा हेलिकप्टर कम्पनी छन् । आन्तरिक वायुसेवाले नेपालमा वार्षिक १५ अर्ब रुपैयाँको कारोबार गर्ने अनुमान गरिएको छ ।

आन्तरिक वायुसेवामा सबैभन्दा बढी बजार हिस्सा भएको बुद्ध एयरले मात्रै वार्षिक ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छ । सन् २०२२ को पहिलो ९ महिनामा मात्रै यो वायुसेवाले ७ अर्ब ८० करोड रुपैयाँको कारोबार गरेको रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेको छ ।

इक्रा नेपालका अनुसार सन् २०२२ को ९ महिनाको अवधिमा श्री एयरलाइन्सले ४ अर्बभन्दा बढीको रेटिङ भएको छ ।

यती एयरलाइन्सको भने यो अवधिमा साढे २ अर्ब रुपैयाँको मात्रै रेटिङ इक्रा नेपालले गरेको छ । योबाहेकका अरू वायुसेवाको रेटिङ भएको छैन । 

विदेशी वायुसेवाले सिस्टम नबनेको, विदेशबाटै काटिने टिकटमा भ्याट लगाउन असहज हुने भन्दै भ्याट तिर्न अस्वीकार गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय वायुसेवाको हकमा पहिले जटिलता फुकाउनुपर्ने र त्यसपछि मात्रै भ्याटमा जान सकिने माग भइरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले बताए ।

उनले भने, ‘विदेशी वायुसेवाको टिकट भ्याट लगाउन देखिएको जटिलता, टिकेटिङ सिस्टमका लागि आवश्यक कोडसहितको समस्या हुने भएकाले सो विषयमा अर्थमन्त्रीसँग बुधवार मात्रै छलफल भएको छ ।’

सरकारले व्यवसायीलाई मार नपर्ने गरी भ्याट लगाउने भन्ने आश्वासन अर्थमन्त्री प्रकाशशरण महतबाट आएको पनि थापाको भनाइ छ । अब बिहीवार पनि आन्तरिक राजस्व विभागसँग आवश्यक छलफल तय भएको उनले बताए । 

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको प्रतिनिधिमूलक संस्था बोर्ड अफ एयरलाइन्स रेप्रिजेटिभ्स इन नेपाल (बार्न)ले भने तयारीका लागि ३ महिनाको समय माग गरेको छ । 

बार्नका एक प्रतिनिधि टंकनिधि दाहालका अनुसार पर्यटन मन्त्रालयमार्फत अर्थसमक्ष हवाई टिकटमा भ्याट लगाउन देखिएको जटिलताका विषयमा ध्यानाकर्षण गराइएको छ ।

भ्याट लागू गर्नुपूर्व तयार हुनुपर्ने सिस्टम, व्यावहारिक कठिनाइ, अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने संकेत नम्बरसहितको विषय समेट्ने गरी कार्यविधि नै आवश्यक भएको तर्क पनि दाहालको छ ।

दाहालले भने, ‘अन्तर्राष्ट्रिय उडानका वायुसेवाले सरकारले लगाएको भ्याट नतिर्ने भनेको हैन, सहजताको मात्रै माग गरिएको हो । त्यो विषयमा अर्थ मन्त्रालयले गर्ने निर्णय पर्खिरहेका छौं ।’

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली भने सरकारले लगाएको भ्याट तिर्न सबै वायुसेवा तयार रहेको बताउँछन् ।

उनले भने, ‘भ्याट तिर्न वायुसेवा कम्पनी धमाधम दर्ता हुने काम भइरहेको छ । कुनै वायुसेवाले भ्याट नतिर्ने भनेको छैन । कसैलाई छूट र समय थप दिने विषयमा पनि अहिलेसम्म कुनै तयारी छैन ।’

मैनालीका अनुसार भ्याट नतिर्नेको हकमा कानूनअनुसार कारवाही हुन्छ । कानूनतः १६ असारबाटै हवाई टिकटमा भ्याट लागू भइसकेको छ । अब २५ साउनभित्र वायुसेवा कम्पनीले भ्याटसहितको विवरण बुझाउनुपर्छ ।

त्यतिबेला क–कसले भ्याट तिरे र कसले तिरेनन् भन्ने यकिन हुनेछ । भ्याट लागू भएका निकायले विवरण बुझाएपछि मात्रै त्यसको बारेमा थप जानकारी दिन सकिने मैनालीको भनाइ छ ।

आन्तरिक वायुसेवा १ साउनबाट भ्याटमा आउने भएको र विदेशी वायुसेवा पनि सोही मितिबाट आउनैपर्ने बाध्यता रहेको दाबी मैनालीको छ । अन्यथा कारवाही हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्