
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला सङ्घले आज दुई सय १०औँ भानु जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उनले भानुभक्त आचार्यले रामायण महाकाव्यबाट नेपाली समाजलाई असाधारण हिसाबले भाषिक एकतामा आबद्ध गराएको बताए ।
उनले नेपाली जनतालाई भाषिक एकतामा ल्याएर मुलुकको एकीकरणमा पनि भानुभक्तले योगदान पु¥याएको बताए ।
“उहाँको योगदान कुनै पनि कुराले कमजोर हुन सक्दैन । उहाँको योगदानलाई अवमूल्यङ्कन गर्न सक्दैनौँ । उहाँको मूल्याङकनलाई घटाएर हेर्न सक्दैनौँ”, उनले भने।
नेपाली भाषामा रामायणमा उल्लेख गरिएको भक्तिरसका कृतिबाट सांस्कृतिक उत्थानका लागि मद्दत पु¥याएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले भानुभक्तका रचनामा प्रगतिशीलता, समाज सुधारको उद्घोष, आह्वानजस्ता कुरा नभए पनि रामायण काव्यको प्रभावले भानुभक्तले नेपाली समाजलाई जगाउने गुण लगाएको बताए ।