
एकल आमा आकांक्षाकी एउटी छोरी छिन् प्राप्ति । आफ्नो दुःख लुकाएर आमाले छोरीको खुशी खोज्छिन् । छोरीलाई हुर्काउँछिन््, पढाउँछिन्, बढाउँछिन् ।
अब छोरी ठूली भएकी छन् । उनले आमाको खुशीबारे सोच्न थाल्छिन् । अन्ततः आफ्नोभन्दा अगाडि आमाको विवाह गराइदिने सोच उनले बनाउँछिन् ।
यस प्रकारका कथाहरू हाम्रै समाजमा हुनसक्छन् तर आकांक्षा र प्राप्तिको यो कथा फिल्म ‘बगान’को हो, जुन शुक्रवारबाट देशभरका हलमा प्रदर्शन भइरहेको छ ।
आमा आकांक्षाको भूमिकामा अभिनेत्री करिश्मा मानन्धर छिन् । छोरी प्राप्तिको भूमिकामा नवअभिनेत्री प्रमिला कार्की देखिएकी छन् । पुराना सफल अभिनेता सरोज खनालले एकल महिलाको कथामा फिल्म बनाएका हुन् । खासमा ‘बगान’ एकल आमा र छोरीको संघर्षको कथा हो । त्यसमा पनि एकल आमाको नयाँ जीवन शुरूआतका लागि छोरीले गरेको संघर्ष फिल्मको मूल कथा हो ।
एकल महिलाले नयाँ जीवन शुरूआतका क्रममा के कस्ता आरोह–अवरोह भोग्नुपर्छ, समाजबाट के कस्ता कुराहरू सुन्नुपर्छ भन्ने कुरा फिल्ममा देखाइएको छ । हाम्रो समाज एकल महिलाको पुनः विवाहमा कति अनुदार छ भन्ने कुरा पनि फिल्ममा हेर्न सकिन्छ ।
बाध्यतावश पढ्न नपाएकी आकांक्षा सन्तान भएपछि फेरि विद्यालय भर्ना हुन्छिन् । किताब–कापीको झोला च्यापेर ड्रेसमा विद्यालय पुग्छिन् । छिमेकीका अनेक नमिठा कुराहरू सुन्दै पढाइलाई अगाडि बढाउँछिन् । आखिरमा उनी पढेर जागिरमा स्थापित हुन्छिन् ।
फिल्ममा आकांक्षाको यो दृश्य अभिनेत्री करिश्माको वास्तविक जीवनसँग मेल खान्छ । किशोर उमेरमै फिल्म क्षेत्रमा लाग्दा करिश्माले पढाइ छुटाएकी थिइन् । ७ कक्षामा भर्ना भएर पुनः औपचारिक कक्षा शुरू गरेकी उनले गत वर्ष १२ कक्षा पास गरेकी थिइन् । अहिले पनि उनले पढाइलाई निरन्तरता दिइरहेकी छन् ।
‘बगान’मा आकांक्षाले काम गर्ने एनजीओको व्यवस्थापकको भूमिकामा विजय (सरोज खनाल) देखिएका छन्, यो एनजीओले महिला जागरण अभियान सञ्चालन गर्दै आइरहेको छ ।
अभिनेता आकाश श्रेष्ठको भूमिका छोटो र मिठो छ । अभिनेता नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, सरोज खनाल आफ्नो भूमिकामा ‘चुस्त’ छन् । नवअभिनेत्री भए पनि प्रमिलाले पनि राम्रो काम गरेकी छन् । फिल्मका केही संवादहरू निकै मनछुने छन् । केही संवादले भने जबरजस्ती शिक्षा दिन खोजेको जस्तो लाग्छ । फिल्मको खिचाइ पनि कमजोर लाग्छ । ध्वनि, प्रकाश संयोजन, कलरिङमा नवीनता देखिँदैन । फिल्मको प्रस्तुति वृत्तचित्रको जस्तो लाग्छ । धेरै ठाउँमा दर्शकहरू ‘हाइ काढ्ने’ अवस्थामा पुग्न सक्छन् ।

अनगिन्ती कमजोरीबीच फिल्ममा राम्रो पक्ष पनि धेरै छन् । अभिनेताबाट निर्देशक बनेका सरोजको प्रयास एकदम इमान्दार छ । एकल महिलाको सशक्तीकरणको पक्षमा आवाज उठाउनु फिल्मको बलियो पक्ष हो । फिल्मले शिक्षाको महत्त्वसँगै समाज रूपान्तरणको सन्देश दिन्छ । खासगरी पारिवारिक फिल्म रुचाउने र परिवारका साथ फिल्म हेर्न चाहने दर्शकका लागि ‘बगान’ उपयुक्त हुनसक्छ ।
फिल्म : बगान
कथा : स्वप्निल निरव
निर्देशक : सरोज खनाल
निर्माता : सुरेश वाग्ले
कलाकारहरू : करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्की, नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मा, आकाश श्रेष्ठ आदि ।
समय : १ घण्टा ४५ मिनेट