
सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताए।
सिफारिस भएका छ जना नै परराष्ट्र मन्त्रालयका सहसचिव अर्थात् पेसागत कूटनीतिज्ञ हुन्। जस अनुसार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा सहसचिव लोकबहादुर थापा सिफारिस भएका छन्।
त्यस्तै जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका लागि रामप्रसाद सुवेदी सिफारिसमा परेका छन्। सुवेदी मन्त्रालयको दक्षिण एसिया विभाग प्रमुख र थापा उत्तरपूर्वी एसिया विभागको प्रमुख हुन्।
त्यस्तै आफ्नो कार्यकालको लामो समय मन्त्रालयमै रहेका सहसचिव तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस भएका छन्। उनी अहिले मन्त्रालयको मध्य तथा पश्चिम एसिया र अफ्रिका विभागको प्रमुख छन्।
त्यस्तै मन्त्रालयको सामान्य प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव घनश्याम लम्साल कुबेतका लागि, मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुख धनबहादुर ओली थाइल्यान्डका लागि र शिष्टाचार विभाग प्रमुख सुधीर भट्टराई फ्रान्सका लागि राजदूत सिफारिस भएका छन्। गोरखापत्रमा खबर छ ।