२१ असार २०८३, आइतबार

को–को हुन् कांग्रेसका अन्तर्घातीहरु ?

कात्तिक २०, २०७४
को–को हुन् कांग्रेसका अन्तर्घातीहरु  ?
स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो । कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ, आजको नयाँ पत्रिकामा खबर छ ।
कांग्रेसमा अन्तर्घात गर्नेको सूचीमा बहालवाला जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसम्म छन् । अनुशासन समितिको पहिलो बैठकले उनीहरूसहित सबैलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै, उम्मेदवारलाई असहयोग गर्नेमाथि उजुरी दिन १० असोजसम्मको समय पनि दिएको छ ।

अहिलेसम्म छानबिन अघि बढाइएकोमा डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही, रुकुमकी सांसद मिठु मल्ल छन् । उनीहरूमाथि जिल्लाभित्रका स्थानीय तहका कांग्रेसका उम्मेदवारलाई हराउन सक्रिय भएर लागेको उजुरी परेको हो ।congress flag

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सभापति कर्णविरुद्ध अमरगढी नगरपालिकामा कांग्रेसलाई हराउन लागेको आरोप लागेको छ । त्यस्तै, नुवाकोटका सभापति केसीविरुद्ध विदुर नगरपालिकामा कांग्रेसलाई हराउन सक्रिय रहेको भन्दै उजुरी परेको हो ।

पूर्वकेन्द्रीय सदस्य जुम्लाका दीनबन्धु श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म छन् । पूर्वसांसद तीर्थ भुसाललाई पनि स्पष्टीकरण सोधिएको छ । भुसाललाई चितवनको माडी नगरपालिकामा कांग्रेस उम्मेदवारलाई हराउन सक्रियता देखाएको आरोप छ । कांग्रेस महासमिति सदस्य खनियाँलाई चितवनको एक नगरपालिकामा अन्तर्घात गरी कांग्रेस उम्मेदवारलाई हराउन लागेको आरोप छ । कैलालीका महासमिति सदस्य पदमराज भट्ट र लक्ष्मीराज पाठकविरुद्ध पनि उजुरी परेको छ । दैलेख जिल्ला अनुशासन समितिले जिल्ला सभापति र सचिवलाई कारबाही गरिसकेको भन्दै अनुमोदन गर्न केन्द्रमा पठाएको छ ।

गत संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले नेतृ सुजाता कोइरालालाई कारबाही गरेको थियो । तीन महिना निलम्बन गरेको केही समय भुक्तान भए पनि पछि पार्टीले बाँकी समय मिनाहा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्